Logo

मुख्य समाचार

सिँचाईको अभावमा ड्रयागन खेती


७ कार्तिक २०८२, शुक्रबार  

46
Shares

बाजुरा । बाजुरामा ड्रयागन खेती सिँचाईको अभावमा परेका छन्। पछिल्लो समय बाजुरामा ड्रयागन खेती राम्रो हुँदै गए पनि सिँचाईको समस्याले बोटहरु सुक्ने समस्या परेका छन् ।

एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने ड्रयागन खेतीका लागी उपयुुक्त सिँचाई सुविधा नहुँदा बाजुराका ड्रयागन कृषक समस्या परेका छन् ।

ड्रयागन खेती राम्रो फल्ने गरेको भए पनि सिँचाइ सुविधाको अभावले समस्या हुने गरेको हिमालीका  ड्रयागन कृषक बिष्णु राज पाण्डेले बताए । भनेको समयमा ड्रयागन खेतीले पानी नपाउँदा बोट विरुवा हुर्कन तथा फल समस्या हुने गरेको कृषक पाण्डेको भनाइ छ ।

उनका अनुसार, आफुले करिब ४ रोपनी खेतिमा ८०० बोट लगाएको ड्रयागन खेती राम्रो फल्ने तर सिँचाईको अभावमा सोचेजस्तो नहुने बताए । सिँचाइ र बजारिकरणको सुविधा भएको खण्डमा राम्रो आम्दानी गर्न सकिने कृषक पाण्डेको भनाइ छ ।

पाण्डेले हिमाली गाउँपालिका वडा नम्बर ६ धुलाचौर स्थित डाँरियामा ड्रयागन खेती गर्दै आउँनु भएको छ । उनले हिमाली बहुउद्देश्यीय कृषि फर्म मार्फत कृषि ज्ञान केन्द्र बाजुराको सहकार्यमा ड्रयागन खेती सुरु गरेका हुन् ।

कृषक पाण्डेले  ४ लाख ७० हजारको अनुदान रकम र बाँकी ४ लाख आफ्नो लगानीमा खेती गरिरहनु भएको छ । ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान रकमले चितवनबाट ड्रयागन फलफूल बिरुवा ढुवानी र खरिद गरेर उनले खेती सुरु गरेका हुन् ।

यस्तैः स्वामिकार्तिक खापर गाउँपालिका वडा नं ३ जुकोटमा पनि ड्रयागन खेती गरिएको छ । उक्त खेती पनि सिँचाई असुविधाका कारण समस्यामा पर्ने गरेको छ । अन्तिमजङ्ग शाहीले पालिकाको वडा नं ४ खोलीकुनामा आफ्नै नमुना कृषि फर्म सञ्चालन गरी ड्रयागन खेती गरेका छन् ।

पछिल्लो समय जिल्लाको बुढिगङ्गा नगरपालिकामा पनि ड्रयागन खेती गर्न थालिएको छ । ड्रयागन खेतीबाट राम्रो उत्पादन हुने भए पनि पानीको असुविधाका कारण कृषकहरुलाई बोट जोगाउँन मुस्किल हुने गरेको छ ।

ड्रयागन फलको तौल २०० ग्राम देखि १.२ के.जी.सम्मको हुने गरेको छ । यसको खेति खास गरि थाईल्याण्ड, चाईना, भियतनाम, इन्डोनेसिया, ताईवान, जापान, कोरिया तथा दक्षिण अमेरिकी मुलुक(कोलम्विया, मेक्सिको, ब्राजिल, अर्जेटिना) आदिमा गर्ने गरिन्छ भने अहिले यो खेती नेपालमा समेत गर्न थालिएको छ ।

यस फलमा १२ प्रकारका मिनिरल्स तथा भिटामिन पाइने, र क्यान्सरविरुद्ध प्रतिरोधात्मक गुणका साथै जस्तोसुकै माटोमा पनि यो खेती हुने गरेको छ । यस फलको जातमा रातो बोक्रा, पहेँलो बोक्रा र सेतो रङ हुने गरेको छ । ड्रागन फल गर्मी र सुक्खा हावापानीमा हुने सिउँडी प्रजातिको फलफूल हो ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ३ : ३४ बजे