हैदराबाद । आन्ध्र प्रदेशको कुर्नुल जिल्लामा शुक्रबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २५ जनाको मृत्यु भएको छ। तेलङ्गाना राज्यको हैदराबादबाट कर्नाटकको बेङ्गलुरु जाँदै गरेको यात्रुबाहक बसलाई मोटरसाइकलले पछाडिबाट ठोक्किँदा आगलागी भएको भारतीय प्रहरीले जनाएको छ।
बसमा ४४ जना यात्रु सवार रहेका थिए। दुर्घटनापछि केही यात्रु झ्याल फुटाएर भाग्न सफल भए पनि अधिकांश यात्रुको जलेर मृत्यु भएको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधिकारी विक्रान्त पाटिलका अनुसार मोटरसाइकल ठोक्किँदा उत्पन्न स्पार्कले बसको इन्धन ट्याङ्कीमा आगो सल्किएको थियो।
बस चालकले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेनन्। दुर्घटनाको समयमा धेरैजसो यात्रु सुतिरहेको बताइएको छ। घटनामा मोटरसाइकल चालकको पनि मृत्यु भएको छ।
फरेन्सिक टोलीले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन्।
यो दुई हप्ताभित्र भारतमा भएको दोस्रो घातक बस आगलागी हो। यसअघि राजस्थानमा यात्रु बसमा सर्ट सर्किटका कारण लागेको आगोमा कम्तीमा २० जनाको मृत्यु भएको थियो।










प्रतिक्रिया