काठमाडौं – तिहारका बिदामा काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले सक्रिय रूपमा निगरानी बढाएपछि ठूला दुर्घटनाहरू हुन नपाएको जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार तिहारको अवधिमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १९९ जना चालकलाई कारबाही गरिएको छ।
ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तिहारको दिन उपत्यकामा १६ वटा सामान्य प्रकारका दुई पाङ्ग्रे सवारी दुर्घटना रेकर्ड भएका छन्। ती दुर्घटनामा १५ जना सामान्य रूपमा घाइते भएका छन्। सुवेदीका अनुसार तिहारको दिन ट्राफिक प्रहरी प्रमुखसहितको टोली सडकमै खटिएको थियो। प्रहरीको सक्रियताकै कारण मानवीय क्षति हुन नपाएको उनले बताए।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले तिहारमा सुरक्षात्मक उपायहरू कडाइका साथ लागू गरिएको जानकारी दिए। उनका अनुसार लापरबाहीपूर्वक सवारी चलाउनेहरूलाई नियन्त्रण गर्न सिसी क्यामराबाट निगरानी बढाइएको थियो र सडकमा ट्राफिक प्रहरीको उपस्थिति उल्लेख्य रहेको थियो।
प्रहरीका अनुसार भक्तपुर, ललितपुर, नयाँ बसपार्क, कोटेश्वर, रत्नपार्क, कलङ्की र चाबहिलजस्ता व्यस्त क्षेत्रमा प्रहरी टोली निरन्तर सवारी आवागमन व्यवस्थापनमा खटिएका थिए। एसएसपी अधिकारीले आफू पनि दिनभर सडकमा खटिएको बताउँदै भने, “भाइटीकाभन्दा ठूलो हाम्रो कर्तव्य हो— नागरिक र देशका लागि सडकमा खटिनु नै हाम्रो तिहार हो।”
ट्राफिक प्रहरीले चाडपर्वका समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, लापरबाहीपूर्वक गति नियन्त्रण नगर्ने तथा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूलाई सर्तक गराइएको जनाएको छ।










प्रतिक्रिया