Logo

राजनीति

सत्तामा बसेर भ्रष्ट्राचार गर्नेहरू निर्वाचनमा जान डराए : नेता विडारी


७ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण विडारीले पटक–पटक सत्तामा रहेर भ्रष्ट्राचार र शासनको दुरुपयोग गर्नेहरू निर्वाचनमा जान डराएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले पुराना राजनीतिक दलका रुढिवादी नेताहरूले विकास निर्माणमा असफल भई जनतासामु प्रतिफल दिन नसकेकाले निर्वाचनमा हार्ने डरले धाँधली वा निर्वाचन लम्ब्याउने प्रयास भइरहेको बताएका हुन् ।

उनका अनुसार, “पुराना स्थायी राजनीतिक दलका नेताहरूले पटक–पटक शासन गरे पनि जनतालाई केही दिन सकेनन् । अब उनीहरू हार्ने डरले निर्वाचनमा जान डराइरहेका छन् । तर, निर्वाचनबाट भाग्नु हुँदैन, सहभागी हुनु आवश्यक छ,” उनले भने ।

नेता विडारीले हालको राजनीतिक संकटको समाधान निर्वाचनमार्फत मात्र सम्भव हुने भन्दै सरकारले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन नसके र कैदी पक्राउ गर्न नसके निर्वाचन निष्पक्ष हुने ढुक्कको अवस्था नबन्ने बताए ।

उनले नेकपा (एमाले) बाध्यतावश निर्वाचनमा सहभागी हुने दाबी गर्दै भने, “एमाले अध्यक्ष केपी शर्मा ओलीले समय किन्न र राजनीति लम्ब्याउने प्रयास गरिरहेका छन्, तर अन्ततः उनीहरू पनि निर्वाचनमा सहभागी हुनेछन् । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सात दलको बैठकमा एमालेको उपस्थिति नै त्यसको प्रमाण हो ।”

संविधान र सर्वोच्च अदालतको भूमिकाबारे कुरा गर्दै विडारीले अदालतले केवल संविधानको अक्षर होइन, आन्दोलन र परिवर्तनको भावना पनि बुझ्नुपर्ने बताए । उनका अनुसार, संवैधानिक इजलासमा मुद्दा टुंगिन समय लाग्ने भएकाले यदि सरकारले छ महिनाभित्र निर्वाचन गरायो भने अदालतको आदेश आउनु अघि नै निर्वाचन सम्पन्न हुन सक्नेछ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : १५ बजे