काठमाडौं । अमेरिका र भेनेजुएलाबीच पछिल्ला दिनमा बढ्दो राजनीतिक तथा सैन्य तनावका बीच भेनेजुएलाले रुसमा निर्मित करिब पाँच हजार एयर डिफेन्स मिसाइल तैनाथ गरेको दाबी गरेको छ।
राष्ट्रपति निकोलस मादुरोले ती मिसाइल देशका महत्त्वपूर्ण हवाई सुरक्षा क्षेत्रमा तैनाथ गरिएको बताएका छन्। उनका अनुसार ‘इग्ला–एस’ भनिने यी मिसाइल साना लक्ष्य, जस्तै ड्रोन, हेलिकोप्टर र विमान खसाल्न सक्षम छन्। रुसी कम्पनी रोसोबोरोनएक्सपोर्टका अनुसार, इग्ला–एस मिसाइलले ६ किलोमिटरसम्मको दूरी र ३.५ किलोमिटरसम्मको उचाइमा रहेका लक्ष्यमा प्रहार गर्न सक्छ। मादुरोले बताएको मिसाइल संख्याको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन।
भेनेजुएलाको दाबीसँगै अमेरिकाले पनि क्यारेबियन क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ। अमेरिकी सेनाले हाल चार हजार ५०० मरिन र नाविक तैनाथ गरेको र लागुऔषध तस्करीमा संलग्न डुंगामाथि आक्रमणहरू गरेको अमेरिकी मिडियाले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मादुरो सरकारलाई कमजोर बनाउन भेनेजुएलामाथि सैन्य कारबाहीको विकल्प खुला रहेको बताएका छन्। तर, मादुरोलाई सिधा निसाना बनाउने निर्णय भने लिइएको छैन। रिपोर्टअनुसार ट्रम्प प्रशासन मादुरोलाई बिनायुद्ध सत्ताबाट हट्न दबाब दिने रणनीतिमा छ।
यसबीच मादुरोले सेनालाई पुनः तैनाथ गर्न निर्देशन दिएका छन् र लाखौँ स्वयंसेवी मिलिसियालाई एकजुट पारेका छन्। उनले आफ्ना अनुसार ८० लाखभन्दा बढी सदस्य रहेको मिलिसियाले अमेरिकाको कुनै पनि षड्यन्त्र असफल पार्ने दाबी गरेका छन्। तर, विशेषज्ञहरूले उक्त संख्याको विश्वसनीयतामाथि प्रश्न उठाएका छन्।
प्रतिक्रिया