कञ्चनपुर – देशभर तिहारको रौनक छाइरहेको बेला कञ्चनपुरको गुन्यालफाँटास्थित बादी समुदायको बस्ती भने सुनसान बनेको छ। बस्तीका अधिकांश युवा रोजगारीका लागि भारत गएकाले घरमा महिला, बालबालिका र वृद्धबृद्धामात्र रहेका छन्।
बस्तीकी रत्ना कुमाल (बादी) का अनुसार आर्थिक अभावका कारण चाडपर्वले कुनै फरक पारेको छैन। “मिठो–मसिनो खाने, नयाँ लुगा लगाउने रहर त सबैलाई हुन्छ, तर पेट पाल्न गाह्रो हुँदा तिहार आएको महसुस नै भएको छैन,” उनले भनिन्।
वृद्धा शान्ति कुमालका छोरा र बुहारी मजदुरीका लागि भारत गएका छन्। “तिहारमा फर्कन्छु भनेका थिए, तर तलब नपाउँदा आउन सकेनन्,” उनले बताइन्।
स्थानीय पदमबहादुर राना (बादी) का अनुसार बस्तीमा ६२ घरधुरीमध्ये करिब २५ परिवार मात्रै स्थायी रूपमा रहेका छन्। बाँकी सबै मजदुरीका लागि भारत गएका छन्। “कमाउने ठाउँ नहुँदा घरमा ताला लगाएर जानु बाध्यता बनेको छ,” उनले भने।
पहिले माटाका भाँडा बनाउने, मादल बनाउने र चाडपर्वमा नाचगान गर्ने परम्परागत पेशा हराइसकेपछि बादी समुदाय रोजगारीविहीन भएको छ। रानाका अनुसार समुदायसँग आधा कठ्ठादेखि एक कठ्ठासम्म मात्र जमिन भएकाले कृषि पनि सम्भव छैन।
“सरकारले आयमूलक रोजगारीका अवसर सिर्जना गर्नुपर्ने हो, तर केन्द्रदेखि स्थानीय तहसम्म कसैले चासो दिएको छैन,” रानाले भने। उनका अनुसार शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता मौलिक अधिकारबाट बादी समुदाय अझै वञ्चित छ।
प्रतिक्रिया