Logo

Breaking News 1

भाईटीका : दाजुभाइबीचको पवित्र प्रेम, सद्भाव र वैदिक संस्कृतिको पर्व


६ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । यमपञ्चकको अन्तिम दिन मनाइने भाईटीका पर्व आज देशभर उत्साह, उमङ्ग र प्रेमसाथ मनाइँदैछ । दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको कामना गर्दै सप्त–रंगी टिका लगाइदिने र मखमली माला अर्पण गर्ने यो पर्व दाजुभाइबीचको आत्मीय सम्बन्ध, संस्कार र संस्कृतिको प्रतीकका रूपमा मनाइन्छ ।

भाईटीकाको प्रारम्भ यम र यमुनाबीचको पौराणिक कथासँग सम्बन्धित मानिन्छ । पाँच दिनसम्म यमराज आफ्नी दिदी यमुनाको घरमा अतिथि बनेर बस्दा दिदीले भाइको दीर्घायुका लागि गरेको पूजाको उदाहरणबाट प्रेरित भएर यो पर्व सुरु भएको बताइन्छ । त्यसैले आजको दिन दिदीबहिनीहरूले दाजुभाइलाई टिका लगाउँछन, मिठा परिकारहरू खान दिन्छन् र ओखर, कटुस र भाइमसलाहरू अर्पण गर्दछन् ।

भाईटीकामा प्रयोग गरिने सप्त–रंगी टिका (रातो, सेतो, पहेंलो, बैजनी, हरियो, निलो र कालो) इन्द्रणीको प्रतीकका रूपमा लिइन्छ । यसैगरी कहिल्यै नओइलाउने मखमली माला स्थायी प्रेम र सम्बन्धको प्रतीक मानिन्छ । टिका लगाउने क्रममा अष्ट चिरञ्जीवीको पूजा गरी दिदीबहिनीले भाइको दीर्घायु र सुखको कामना गर्छन् ।

यस दिन ओखर फुटाउने र खाने चलनले पनि विशेष अर्थ बोकेको छ । ओखरले हाड मजबुत पार्ने, रोगव्याधी हटाउने र शरीरलाई शक्ति दिने विश्वास छ । त्यसैगरी कटुस र भाइ मसला शरीरलाई ऊर्जा दिने तत्वका रूपमा मानिन्छ । दिदीबहिनीहरूले दाजुभाइलाई मिष्ठान्न परिकार, फलफूल, वस्त्र तथा भेटी अर्पण गर्छन् भने दाजुभाइहरूले दिदीबहिनीलाई माया र आशीर्वादका प्रतीकस्वरूप उपहार प्रदान गर्छन् ।

जसका आफ्ना दाजुभाइ वा दिदीबहिनी छैनन उनीहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टिका लगाउने परम्परा पनि छ । उक्त मन्दिर वर्षमा यही दिन मात्रै खुल्ने गर्छ । भाईटीका केवल दाजुभाइबीचको पर्व मात्र होइन, यो नेपाली समाजको साझा संस्कृति, प्रेम, सहिष्णुता र पारिवारिक एकताको प्रतिक हो । वैदिक परम्परा, लोकसंस्कृति र वैज्ञानिक मान्यतासँग जोडिएको यो पर्वले नेपालमा रहेका विभिन्न जातजाति, धर्म र संस्कृतिका मानिसहरूलाई एकताको सूत्रमा बाँध्ने कार्य गरेको छ ।

नेवारी समुदायमा यस पर्वलाई “किजा” भनिन्छ र सोही दिन आत्मपूजा अर्थात् “महापूजा” गर्ने चलन पनि छ । यसरी भाईटीका बहुआयामिक सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्व हो । जसले नेपालीपन, माया र पारिवारिक सम्बन्धलाई अझ गहिरो बनाउँछ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ७ : ५१ बजे