Logo

समाचार

प्रधानमन्त्री कार्कीले कलाकारलाई आग्रह गरिन्– ‘दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्’



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजमा फैलिएको दुष्प्रचार चिर्न कलाकारहरूलाई सक्रिय भूमिका निभाउन आग्रह गरेकी छन्।

बुधबार (कात्तिक ५) प्रधानमन्त्री निवास बालुवाटारमा कलाकारसँगको भेटवार्तामा प्रधानमन्त्री कार्कीले अहिलेको समयमा सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। उनले भनिन्, “समाजमा तपाईं कलाकारहरूको प्रभाव छ, सामाजिक सञ्जालमा भइरहेको दुष्प्रचार चिर्नका लागि तपाईंहरूले पनि भूमिका खेलिदिनुहोस्। हाम्रा केही कमजोरी भए औँल्याइदिनुहोस्, तर असल नियतले काम गर्दा कसैले गाली गरे पनि हामी डराउँदैनौँ।”

कलाकारहरूले प्रधानमन्त्री कार्कीलाई गलत सूचना र प्रचारप्रति नडराई भ्रष्टाचारविरुद्धको अभियान र आगामी निर्वाचनलाई प्राथमिकता दिएर अघि बढ्न सुझाव दिए। उनीहरूले सरकारलाई देश स्थिरता र सुशासनका लागि दृढ रहन आग्रह गरे।

अभिनेत्री ऋचा शर्माले प्रधानमन्त्री कार्कीको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै भनिन्, “अब मुलुक सही दिशामा अघि बढ्नेमा हामीलाई विश्वास छ। उहाँको सरल र स्पष्ट वक्ता शैलीले हामीलाई भरोसा दिलाएको छ।”

अभिनेता विपीन कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालको अडानले सरकार डराएको छैन भन्ने सन्देश दिएको बताए। “सरकारप्रति थप विश्वास र आशा जागेको छ,” उनले भने।

त्यस्तै, अभिनेता निश्चल बस्नेतले प्रधानमन्त्रीलाई ढुक्कसँग अघि बढ्न सुझाव दिँदै भने, “सरकार सही धरातलमा छ भने डराउनु पर्दैन। अहिले राष्ट्रिय एकता र सकारात्मकताको खाँचो छ।”

संगीतकार कालीप्रसाद बाँस्कोटाले समाज भड्काउन खोज्ने तत्त्वप्रति सचेत रहन सुझाव दिए। “समाज भड्काउन सजिलो छ, सम्हाल्न गाह्रो छ। अहिले सम्हाल्ने र सम्हालिने समय हो,” उनले भने।

कलाकारहरूले परिवर्तन विरोधी तत्त्वले सरकार र गृहमन्त्रीलाई विवादमा तान्ने प्रयास गरिरहेको उल्लेख गर्दै दुष्प्रचारविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिएका थिए।

भेटमा कलाकार तथा सर्जक विजय बराल, सुजित बिडारी, निश्चल बस्नेत, विपीन कार्की, शान बस्न्यात, दिव्यदेव पन्त, कालीप्रसाद बाँस्कोटा, ऋचा शर्मा र कर्मालगायतको उपस्थिती थियो।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ७ : ५८ बजे