Logo

मुख्य समाचार

मेयर बालेनको आरोप: “आन्दोलनमा आगजनी कांग्रेस र एमाले कार्यकर्ताबाट”



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले हालको ‘जेनजी’ आन्दोलनका क्रममा भएको आगजनीमा नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताको संलग्नता रहेको आरोप लगाएका छन्।

बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आन्दोलनमा आफ्नै कार्यकर्ताले देश जलाएको भन्दै कांग्रेस र एमालेमाथि कडा आलोचना गरेका हुन्।

“आन्दोलनमा पूरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ,” उनले स्टाटसमा लेखेका छन्। उनले नेताहरूलाई लक्षित गर्दै लेखेका छन्, “चियाको टाइममा रगत पिएर अरूलाई लुसिफर भन्छौ, लाज लाग्दैन?”

शाहले नेताहरू विदेशी शक्तिलाई दोष दिए पनि भिसा लिनकै लागि जनतालाई उनीहरूकै घर धाउनुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। उनले आन्दोलनका क्रममा हिंसात्मक गतिविधिको दोष युवापुस्तामाथि थोपर्न खोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन्।

हालको ‘जेनजी’ आन्दोलन शिक्षा, रोजगारी, अवसर र सुशासनका मागसहित देशभर फैलिएको छ। आन्दोलनका क्रममा केही स्थानमा आगजनी र तोडफोडका घटनाहरू समेत भएका छन्।

प्रकाशित मिति : ५ कार्तिक २०८२, बुधबार  ७ : २० बजे