काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन) ले बजेट अभावका कारण द्वन्द्वरत मुलुकहरूमा स्थापना गरिएका शान्ति मिसनहरूमा खटिने शान्ति सैनिकको संख्या २५ प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै नेपालले हालसम्म पठाउँदै आएको शान्ति सेनाको संख्यामा पनि कटौती हुने निश्चित भएको छ। यद्यपि, शान्ति सैनिक पठाउने अग्रस्थानमा नेपाल यथावत रहने नेपाली सेनाले स्पष्ट पारेको छ।
हाल नेपाली सेना विश्वका १० वटा विभिन्न द्वन्द्वरत देशमा राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत खटिएको छ। ती मिसनहरूमा ५ हजार ८१९ जना नेपाली शान्ति सैनिक खटिएका छन्, जसमा ५३८ जना महिला छन्। सैनिक कटौतीपछि पनि नेपाल शान्ति सेनाको आपूर्ति गर्ने मुलुकहरूमध्ये पहिलो स्थानमा रहनेछ।
संयुक्त राष्ट्रसंघले सदस्य राष्ट्रहरूबाट प्राप्त हुने निश्चित आर्थिक सहयोगमा समस्या आएपछि बजेट घाटा व्यवस्थापन गर्न फौज संख्यामा कटौती गर्न लागेको हो। हाल राष्ट्रसंघको विभिन्न १४ मिसनमा विश्वभरबाट खटिएका १ लाख २० हजारभन्दा बढी शान्ति सैनिकमध्ये समानुपातिक आधारमा संख्यात्मक कटौती गरिनेछ। राष्ट्रसंघले करिब १५ प्रतिशत बजेट अभाव सामना गरिरहेको जनाइएको छ।
नेपाली सेनाका युद्धकार्य महानिर्देशक अनुपजङ्ग थापाले शान्ति सेना नेपालको अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध सुदृढ गर्ने महत्वपूर्ण माध्यम भएकाले संख्यात्मक कटौती हुँदा पनि नेपाल अग्रणी भूमिकामै रहने बताए। उनले राष्ट्रसंघको निर्णयले सन्देश पठाउने देशहरूको आर्थिक र कूटनीतिक क्षेत्रमा केही असर पर्ने सम्भावना रहेको स्वीकार गरे।
शान्तिकार्य निर्देशक श्रवणकुमार विष्टका अनुसार शान्ति सेनामार्फत नेपालले राष्ट्रसंघबाट प्राप्त गर्ने भुक्तानी विदेशी मुद्रा आर्जनको एक महत्वपूर्ण स्रोत हो। सैनिक कटौतीसँगै सो आयमा केही कमी आउने सम्भावना रहेको उनले बताए। शान्ति सेनाको उपस्थितिका कारण नेपालले दूतावास नभएका मुलुकहरूमा समेत परोक्ष रूपमा कूटनीतिक पहुँच बनाएकोमा कटौतीको असर त्यस क्षेत्रमा पनि पर्ने देखिन्छ।
नेपालले विगतमा १ लाख ५९ हजार ६६४ जना शान्ति सैनिक राष्ट्रसंघको मिसनमा खटाइसकेको छ। तीमध्ये ४४ वटा मिसनमा खटिँदा ७४ सैनिकले ज्यान गुमाएका छन् भने ७५ जना गम्भीर घाइते भएका छन्। यद्यपि, नेपालले एकैपटक १० हजार सैनिक उपलब्ध गराउने क्षमता राख्ने र त्यसका लागि प्रतिबद्धता समेत जनाएको छ।
नेपाली सेनाका युद्धकार्य निर्देशक मनोज थापाले राष्ट्रसंघको शान्ति मिसनहरू आवश्यकता अनुसार सञ्चालनमा आउने वा बन्द हुने प्रक्रिया सामान्य भएको बताए। तर यसपटकको सैनिक कटौती शुद्ध रूपमा बजेट अभावकै कारण भएको उनले स्पष्ट पारे। सेनाले भने कटौती कार्य योजनाबद्ध रूपमा कार्यान्वयन गरिने जनाएको छ।
विश्व शान्ति स्थापनामा नेपालले खेलेको भूमिका राष्ट्रसंघले समेत प्रशंसा गर्दै आएको छ। ‘ब्लू हेल्मेट’धारी नेपाली सैनिकहरू अनुशासित, व्यावसायिक र सहासिक भूमिकाका लागि विश्वभर चिनिएका छन्। राष्ट्रसंघअन्तर्गतको आगामी कटौतीले समग्र शान्ति मिसनलाई असर गर्ने भए पनि नेपालले आफ्नो योगदानको निरन्तरता भने कायम राख्ने सेनाको भनाइ छ।
प्रतिक्रिया