काठमाडौं – राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारलाई सत्ताकब्जाको रणनीतिक हिस्सा भएको दाबी गरेका छन्।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै प्रसाईंले प्रधानमन्त्री कार्कीको छ महिनाको कार्यकालपछि काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले पाँच वर्षका लागि सत्ता कब्जा गर्ने योजनाअनुसार ग्राण्ड डिजाईन अघि बढिरहेको आरोप लगाए।
“अहिलेलाई प्रधानमन्त्री सुशीला कार्की, छ महिना पछाडि चुनाव गराइसकेपछि ५ वर्षका लागि बालेन सत्ता कब्जा गर्ने रणनीति हो,” प्रसाईंले भने, “यिनीहरूले देशभरबाट १६५ जना उम्मेदवारको तयारी गरिसकेका छन्।”
प्रसाईंले प्रधानमन्त्री कार्कीसहित हालको क्याबिनेटका सदस्यहरू अमेरिकाबाट परिचालित रहेको दाबी पनि गरे। उनले बालेन, भिक्टर पौडेल, आस्था राउत, सुमना श्रेष्ठ र रक्षा बमलाई “जेन-जी आन्दोलन” का ग्राण्डडिजाइनरको रूपमा प्रस्तुत गर्दै बालेनलाई सबैभन्दा “खतरनाक” व्यक्ति भने।
प्रसाईंले मेयर बालेन शाह, भिक्टर पौडेललगायतलाई “यो युगका रावण” को संज्ञा दिंदै उनीहरू देशको सर्वाधिक अपराधी भएको आरोप लगाए। उनले देशमा परिवर्तन ल्याउने नाममा यिनीहरूले मुलुकलाई संकटतर्फ धकेल्ने प्रयास गरिरहेको आरोपसमेत लगाए।
उनको दाबी अनुसार, वर्तमान सरकारको आयु अब दुई महिना पनि नहुने र “बालेनलाई कारबाही गर्ने मान्छे समयले जन्माउने” समय नजिकिएको छ।
प्रतिक्रिया