Logo

मुख्य समाचार

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध टिप्पणी गर्दा अधिवक्ता स्वागत नेपालमाथि पक्राउ प्रयास


४ कार्तिक २०८२, मंगलबार  

69
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र नैतिकताबारे प्रश्न उठाएपछि अधिवक्ता स्वागत नेपालमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको खुलासा भएको छ । ब्युरोले नेपाललाई उपस्थित हुन फोनमार्फत निर्देशन दिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

नेपालले पूर्व प्रधानन्यायाधीश रहेकी सुशीला कार्की प्रधानमन्त्री बनेको कदम संविधानविपरीत भएको दाबी गर्दै आएका छन् । उनका अनुसार, नेपालको संविधानले गैरसांसदलाई प्रधानमन्त्री बन्न अनुमति नदिने र पूर्वप्रधानन्यायाधीशलाई कार्यकारी पदका लागि ग्राह्य नमान्ने स्पष्ट व्यवस्था गरेको छ ।

नेपालले भनेका छन्, “पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नु संविधान बाहिरको कार्य हो, यो संसारकै अनैतिकता हो।” उनले यो विषय उठाएको कारण आफूलाई पक्राउ गर्ने तयारी भइरहेको आरोप लगाएका छन् ।

उनका अनुसार, साइबर ब्युरोको फोनमा कुरा गर्दा प्रहरी अधिकारीले “तिहार मनाउनुस्” भन्दै पर्वपछि पक्राउ गर्न सकिने संकेत गरेका थिए ।

नेपालले सरकारको यो कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमण भन्दै विरोध जनाएका छन् । उनले जेनजी आन्दोलनको मागलाई संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु गलत भएको भन्दै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निरङ्कुशता देखाएको टिप्पणी गरेका छन् ।

नेपालको संविधानको धारा ७६ अनुसार गैरसांसद व्यक्ति प्रधानमन्त्री बन्न नपाउने व्यवस्था छ भने धारा १३२ (२) ले पूर्वप्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशलाई सरकारी पदमा नियुक्त गर्न नहुने स्पष्ट उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ११ : १८ बजे