टोकियो । जापानको संसद्ले सानै ताकाइचीलाई देशको पहिलो महिला प्रधानमन्त्रीको रूपमा चयन गरेको छ। तल्लो सदनमा भएको मतदानमा ताकाइचीले २३७ मत प्राप्त गर्दै आवश्यक सामान्य बहुमत पार गरेकी हुन्।
६४ वर्षीया ताकाइची सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)की नेतृ हुन्। उनी दिवंगत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी नजिककी सहयोगी तथा रूढिवादी धारकी नेतृका रूपमा परिचित छिन्। बेलायती पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक मानिने ताकाइचीलाई जापानमा ‘आइरन लेडी’ भनेर पनि चिनिन्छ।
प्रधानमन्त्री बन्ने यो उनको तेस्रो प्रयास हो। पछिल्ला पाँच वर्षमा एलडीपीले चार प्रधानमन्त्री फेरेको अवस्थामा ताकाइचीले पार्टीभित्रको आन्तरिक अस्थिरता बीच नेतृत्व सम्हालेकी हुन्।
नव–निर्वाचित प्रधानमन्त्री ताकाइचीसामु सुस्त अर्थतन्त्र सुदृढ पार्ने, अमेरिका–जापान सम्बन्धलाई सन्तुलनमा राख्ने र स्क्यान्डलले कमजोर पारेको सत्तारूढ दललाई एकजुट बनाउने चुनौती रहेका छन्।
बीबीसीका अनुसार ताकाइचीको चयनसँगै जापानले आफ्नो इतिहासमा पहिलोपटक महिला प्रधानमन्त्री पाएको छ।
प्रतिक्रिया