Logo

समाचार

विपिन जोशीको पार्थिव शरीर नेपाल ल्याइयो, प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सम्मानसहित श्रद्धाञ्जली



काठमाडौं । इजरायलमा हमासको आक्रमणमा ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज नेपाल ल्याइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय झण्डा ओढाएर जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरिन्।

शव स्वागतका लागि प्रधानमन्त्री कार्कीका साथै गृहमन्त्री ओमप्रकाश अर्याल, ऊर्जा मन्त्री कुलमान घिसिङ लगायत उच्चपदस्थ अधिकारीहरू विमानस्थलमा उपस्थित थिए।

श्रद्धाञ्जली सभामा प्रधानमन्त्री कार्कीले विपिन जोशीलाई “प्रत्येक नेपाली आमाको छोरा” भन्दै भावुक अभिव्यक्ति दिइन्। “विपिन केवल जन्म दिने आमाको मात्र छोरा होइन, सबै नेपाली आमाहरूको छोरा हो। अब कसैले उनलाई बिर्सन सक्दैन,” उनले भनिन्।

जोशी इजरायलमा अध्ययनरत रहेका बेला २०२३ अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएका थिए। उनी केही समयदेखि सम्पर्कविहीन अवस्थामा थिए। केही दिनअघि उनको मृत्यु पुष्टि भएको थियो।

सरकारले विपिनको निधनप्रति गहिरो शोक व्यक्त गर्दै उनलाई राष्ट्रिय सम्मानका साथ श्रद्धाञ्जली दिएको हो।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ५ : २१ बजे