काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुको पुन परिक्षा गराउने बताएका छन् ।
सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।
उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटी सम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमा सीटीईभीटीको जुन विद्यार्थीहरुको छन् उनीहरुको प्रश्नउत्तरको कपि जलेको हुनाले जस जसको कापि जलेको छ । ती विद्यार्थीहरुको पुन परिक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्यो परिक्षा सहज तरिकाले लिने कुरा भएको छ । परिक्षा फेरि लिने भन्ने निर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरुको फेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च आउने भएको छ ।’
यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दै त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।
उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको र त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेर टुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’
वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्या हुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटर विषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।
प्रतिक्रिया