काठमाडौं । पूर्व माओवादी लडाकु डायमण्ड सीले रुसी सेनामा सर्जेन्ट पदमा पदोन्नति भई सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका छन्। उनले रुस–युक्रेन युद्धको अग्रमोर्चामा ‘प्राइमरी एसल्ट सेक्सन’को कमाण्ड गरिरहेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
डायमण्डले आफूले जीवनमा नदेखेको सपना पूरा भएको उल्लेख गर्दै युद्धको कठिन परिस्थितिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सहज नभएको बताएका छन्। उनका अनुसार, उनी प्रारम्भमा रुसी सेनाको जुनियर सर्जेन्ट अर्थात् सेक्सन सह-कमाण्डरको भूमिकामा थिए, भने पछिल्लो समय सर्जेन्ट पदमा उक्लिएर सेक्सन कमाण्डरको जिम्मेवारी सम्हालेका हुन्।
“भीषण युद्धको बीचमा आफ्नै जीवनको कुनै ग्यारेन्टी नभएको अवस्थामा पनि जिम्मेवारी पूरा गर्नु युद्धकालीन समयको माग थियो,” उनले सामाजिक सञ्जालमा लेखेका छन्।
जनयुद्धमा सहभागी हुँदै धेरै सपना देखेको भए पनि तीमध्ये धेरै अधुरा रहेको उल्लेख गर्दै उनले रुसको पक्षबाट युद्धमा सहभागी हुने निर्णय कठिन भए पनि आवश्यक ठानेको बताएका छन्।
रुस–युक्रेन युद्ध सन् २०२२ फेब्रुअरीदेखि जारी छ, जसमा हजारौं सैनिक तथा सर्वसाधारणको ज्यान गइसकेको छ। यस्तो अवस्थामा नेपाली नागरिक डायमण्ड सीको युद्धमा प्रत्यक्ष संलग्नता उल्लेखनीय मानिएको छ।
प्रतिक्रिया