Logo

Breaking News 1

सर्लाहीमा १७ वर्षअघि व्यापारी हत्या र लुटपाट प्रकरणका मुख्य आरोपी पक्राउ



सर्लाही । सर्लाहीमा करिब १७ वर्षअघि भएको हत्या र डाँका घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् । जिल्लाको कबिलासी नगरपालिका – ६ का ठगा रायका छोरा २५ वर्षीय महेन्द्र रायलाई सर्लाही प्रहरीले पक्राउ गरेको हो । उनीमाथि कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरको आरोप लगाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०६३ साल माघ ७ गते साँझ करिब ७ः३० बजे तत्कालिन जमुनिया गाविस – ६ ( हाल कबिलासी नगरपालिका – ६ ) स्थित मदनपुर टोलमा व्यापारी राजेन्द्र प्रसाद चौधरीको हत्या भएको थियो । चौधरी आफ्नो पसल बन्द गरी छोरा सन्तोष चौधरीले चलाएको मोटरसाइकलमा घर फर्किँदै गर्दा मदनपुरको पनपिया पोखरी नजिकै पुग्दा रायसहितका व्यक्तिहरूले उनीहरूलाई रोकेका थिए ।

ती व्यक्तिहरूले चौधरीको साथमा रहेको रु. १६ हजार लुटेका र त्यसपछि महेन्द्र रायले गोली प्रहार गरी राजेन्द्र चौधरीको हत्या गरेको अभियोग छ । घटनापछि मृतकका छोरा सन्तोष चौधरीले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । सोही जाहेरी दर्ता गरी प्रहरीले घटनाको अनुसन्धान थालेको थियो ।

वर्षौँदेखि फरार रहेका रायलाई सर्लाही प्रहरीले असोज ३१ गते दिउँसो करिब २ बजे पक्राउ गरेको जनाएको छ । हाल उनीमाथि प्रारम्भिक बयान लिएर सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  ८ : १४ बजे