Logo

Breaking News 1

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।

‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’ उनले भने, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’ उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गरे ।

पत्रकारितासँग सम्बन्धित विषयमा पनि बोल्दै उनले आफ्नो प्रधानमन्त्री कार्यकालमा प्रेस स्वतन्त्रता कुण्ठित नभएको बताए । ‘मैले प्रधानमन्त्री हुँदा पत्रकारले डराएर लेख लेख्नुपर्ने अवस्था थिएन । आत्मसेन्सर गर्ने, आफैंलाई रिस्टिक्ट गर्नुपर्ने अवस्था थिएन,’उनले भने ।

ओलीले देश विकासको दिशामा अघि बढिरहेको अवस्थामा हाल देश अस्थिरतातर्फ गएको आरोप लगाए । ‘देश सार्वभौमसत्ता जर्गेना गर्दै अगाडि बढिरहेको थियो, त्यो अहिले भताभुङ्ग भएको छ,’ उनले भने । कार्यक्रममा ओलीले आफ्नो बफादारी कसैलाई मन नपरे पनि राष्ट्र, जनता र मानवताप्रतिको प्रतिबद्धता नछोड्ने स्पष्ट पारे ।

उनले भने, ‘मेरो बफादारिता कसैलाई मन नपरे पनि देशप्रति मेरो बफादारिता छ । यस देशको जनताप्रति मेरो बफादारिता छ, मानव जातिप्रति मेरो बफादारिता छ, त्यसकारण अघि मैले भनेका मूल्यमान्यताहरु मेरा निष्ठाका विषय हुन् ।’

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ३ : २५ बजे