Logo

समाचार

यमपञ्चक तिहार : संस्कृति, पूजा र सामाजिक सद्भावको पर्व



यमपञ्चकका पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।

डा.उत्तम उपाध्यय न्यौपाने – संस्कृति अध्येता

काठमाडौं । तिहार हाम्रो हिन्दू धर्मावलम्बीहरूको दोस्रो महान् चाड हो । यसलाई प्रायः यमपञ्चकका पाँच दिनहरूसँग जोडेर मनाइन्छ । कार्तिक कृष्ण त्रयोदशीबाट प्रारम्भ भएर कार्तिक शुक्ल द्वितीयासम्मको यी पाँच दिन प्रकृति पूजकको तिहारको रूपमा चिनिन्छ । यस पर्वमा पृथ्वी, जल, तेज, वायु र आकाशजस्ता पाँचै पञ्चतत्वलाई सम्मान गरिन्छ ।

तिहारका पाँच दिनहरूले विशेष महत्व बोकेका छन् । पहिलो दिन काग तिहारका रूपमा कागको पूजा गरिन्छ, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन नर्व चतुर्दशी वा गाईपूजा, चौथो दिन लक्ष्मी पूजा र पाँचौं दिन भाईटीका वा दाजुभाइ–दिदीबहिनीको सद्भाव र प्रेमको पर्व मानिन्छ ।

यमपञ्चकका यी पाँच दिनमा यमराज छुट्टीमा हुने विश्वास गरिन्छ र यस अवधिमा दाजुभाइ–दिदीबहिनीले एकअर्कासँग भेटघाट, मिठा पकवान तयार गरेर खाने र भाइबहिनी बिच भाइटीका लगाउने परम्परा छ ।

लक्ष्मी पूजाको दिनलाई सम्पन्नताको प्रतिक मानिन्छ । माता लक्ष्मीको पूजा अँध्यारो रातमा वा बेलुकामा गरिन्छ र यस दिन घर–आँगनमा दीप प्रज्वलन गरी समृद्धिको कामना गरिन्छ । भाइटीकाको दिन दिदीहरूले आफ्ना दाजुभाइको लामो उमेर र कल्याणको कामना गर्दै टिका लगाउने र उपहार दिने प्रचलन छ । यसरी तिहार केवल देवी–देवताको पूजा मात्र नभएर दाजुभाइ–दिदीबहिनीको सम्बन्धलाई सुदृढ बनाउने सामाजिक पर्व पनि हो ।

यस पर्वले प्राकृतिक चक्र, ऋतु परिवर्तन र जीवनका सुख–दुःखसँग सम्बन्धित महत्वपूर्ण सन्देश पनि दिन्छ । शरदकालको अन्त्य र हेमन्त ऋतुको आगमन, कृष्ण–शुक्ल पक्षको क्रम र यमराजसँगको दिदी–भाइको सम्बन्ध पर्वको पौराणिक र धार्मिक अर्थलाई अझ प्रगाढ बनाउँछ । यमपञ्चकका यी पाँच दिनहरूमा मृत्यु भए पनि त्यसले नर्कमा नभई स्वर्गमा जाने विश्वास छ । यसले मानिसमा धर्म, नैतिकता र सामाजिक सम्बन्धको महत्वबोध गराउँछ ।

यसरी तिहार हिन्दू धर्मावलम्बीहरूको लागि बहुआयामिक, सांस्कृतिक, धार्मिक र सामाजिक पर्व हो । यो पर्व प्रकृति पूजक परम्परामा आधारित छ र सनातन धर्मको जीवित प्रतीकको रूपमा रहँदै आएको छ । केवल पूजा र उत्सवको दिन मात्र नभएर, यो पर्व परिवार, प्रेम, सद्भाव र सामाजिक समृद्धिको पनि पर्व हो ।

यमपञ्चक भन्नु नै यमपास दण्ड जसलाई हामी दक्षिणका देवताका रुपमा यमराजलाई मान्दछौं । पृथीवी तत्व अन्तर्गत यम र यमुना भगवान सूर्यकी पत्नी संज्ञाबाट जन्मीएका यमराज हुन् । जसलाई यमहः पनि भनिन्छ र उनकी बहिनी यमुना बिच यो पाँच दिनको पर्व मनाइन्छ । यी दिदी भाइ बिचको प्रेमको रुपमा मनाउने गरिन्छ ।(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २ कार्तिक २०८२, आइतबार  ११ : ५५ बजे