काठमाडौं – तिहारको समयमा देशभरको मौसम सामान्य रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहनेछ भने एकदुई स्थानमा फाट्टफुट्ट वर्षा र उच्च हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार लक्ष्मीपूजाको दिन (असोज २८ गते, सोमबार) देशका अधिकांश भागमा मौसम मुख्यतया सफा रहनेछ। तर कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसहित एकदुई स्थानमा हल्का वर्षा हुनसक्ने जनाइएको छ।
कात्तिक ४ गते पनि यस्तै अवस्था रहनेछ। देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा फाट्टफुट्ट वर्षाको सम्भावना छ।
कात्तिक ५ गते देशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
भाइटीकाका दिन (कात्तिक ६ गते) कोशी र मधेस प्रदेशसहित अधिकांश पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रहने पूर्वानुमान गरिएको छ। सो दिन सबै प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुनसक्ने जनाइएको छ।
महाशाखाले उल्लेख्य मौसमी प्रणालीको प्रभाव नरहेकाले तिहारभरि अधिकांश भागमा मौसम सामान्य रहने जानकारी दिएको छ।
प्रतिक्रिया