काठमाडौं । देशभर तिहारको रौनक सुरु भइसकेको छ । घर–घरमा बत्ती बाल्ने, रंगोली सजाउने र दियो बाल्ने तयारीले बजार भरिभराउ छन् । तर भक्तपुरको ऐतिहासिक ‘पोटरी स्क्वायर’ भने पहिलाजस्तो उमंगले नभइ चिन्ताले ढाकिएको छ । यहाँका कुम्हारहरू, जसले दशौं वर्षदेखि माटोको भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका छन्, अहिले आफ्नो परम्परागत पेशा जोगाउन संघर्षरत छन् ।
पहिले तिहार आउनु केही हप्ता अघिदेखि नै माटोका दियो (पाला), ग्राग्रो, गमला, खुत्रुके, धूपदानीलगायतका भाँडाहरू बनाउन व्यस्त हुने पोटरी स्क्वायर अहिले सुस्त देखिन्छ । माटोको भाँडाको माग घट्दै गएको छ, किनकि बजारमा अहिले प्लास्टिक र चीनबाट आयातित पालाले यसको ठाउँ ओगटिसकेका छन् ।
३५÷३६ वर्षदेखि यही काम गर्दै आएका रोसन प्रजापतिले पहिला पाँचछ लाखको अर्डर आउने गरेपनि यस बर्ष जम्मा दुई लाख रुपैंयाँको मात्र अर्डर आएको बताउँछन् । उनका अनुसार चाइनिज बत्तीहरुका कारण व्यापार घट्दै गएको छ । उनले भने, ‘यो हाम्रो पुख्र्यौली पेसा हो । बाजे–बुबाले गर्नुभयो । अनि मंैले पनि यही बाटो समाएँ । पहिला पहिला ठिकै थियो, तिहार नजिकिँदा पाँचछ लाखको अर्डर आउँथ्यो, तर यसपली त दुई लाख मात्र अर्डर आएको छ । हाम्रो माटोको दियो बाल्न मेहेनत चाहिन्छ, तेल हाल्नुपर्छ, बाती राख्नुपर्छ, तर चाइनिज बत्तीमा त सुइच अन गरे पुग्छ । मान्छेहरू सजिलो खोज्छन्, यही कारणले हाम्रो व्यापार घट्दै गएको हो ।’
उनले थपे, यदि स्थानीय निकायले माटोको दियोको प्रयोग गर्नुपर्छ भनेर प्रचारप्रसार गरिदिए सजिलो हुनेथियो । भारत र चीनबाट सस्तोमा सामान आउँछ, त्यसले हाम्रो बजार खोस्छ । बाहिरको वस्तु भित्र ल्याउन नदिएर, यहाको उत्पादनलाई प्राथमिकता दिनुपर्छ । यस्तै, रञ्जना प्रजापति पछिल्ला पाँच÷छ वर्षदेखि माटोको भाँडाको व्यापारमा छिन् । उनी पनि चाइनिज बत्ती र सस्तो भारतका दियोले बजार ओगटेको भन्दै गुनासो गर्छिन् ।
उनले भनिन्, ‘तिहारको बेला माग राम्रै हुन्थ्यो तर अहिले त्यो कम हुँदै गएको छ । चाइनिज बत्ती र सस्तो भारतका दियोले बजार ओगटेका छन् । यदि सरकार वा उपभोक्ताले हाम्रो लोकल समानलाई प्राथमिकता दिए भने पैसा नेपालमै रहन्छ, अर्थतन्त्रमा पनि सुधार हुन्छ ।’
त्यसैगरी, सज्जन प्रजापति जो आफ्नो बुबाले गरेको व्यापार सम्हालेर बसेका छन् । उनी पनि चाइनिज बत्तीको कारण व्यापार निकै घटेको गुनोसो गर्दै माटो भाडाको परम्परालाई जोगाउन माटोको दियोलाई प्राथमिकता दिनुपर्ने बताउँछन् ।
उनले भने, ‘यो त हाम्रा बुबा बाजेलगायत सानो हुँदादेखि गरेको काम हो । अहिले विद्युतीय एवम चाइनिज बत्तीको कारण व्यापार निकै घटेको छ । यो परम्परालाई जोगाउन यहाँका मान्छेले माटोको दियो प्रयोग गर्ने बानी बसाल्नुपर्छ ।’
तर सबैको दृष्टिकोण नकारात्मक छैन । शिव प्रसाद प्रजापति अलि आशावादी देखिन्छन् । उनका अनुसार बीचमा प्लास्टिकका भाँडाले बजार थिचेपनि अहिले फेरि केही मानिसहरू माटोको दियोमा फर्किँदै छन् । उनले भने, ‘हाम्रो यो पुर्खादेखिको काम हो । प्रजापतीहरूको पहिचान नै माटोको भाँडा हो । दियो त केवल तिहारका लागि होइन, अहिले त १२ महिना चल्छ । माग त अहिले पनि छ, हामीले मौसमअनुसार उत्पादन गर्नुपर्छ । बीचमा प्लास्टिकका भाँडाले बजार थिचेको थियो, तर अहिले फेरि केही मानिसहरू माटोको दियोमा फर्किँदै छन् ।’
यद्यपि, बजारमा हुने प्रतिस्पर्धा र सस्तो मूल्यका विदेशी वस्तुले स्थानीय उत्पादनको मागमा गम्भीर असर पारेको छ । पहिला हरेक घरमा माटोको दियो बालिन्थ्यो, अब बिजुलीका झिलिमिलीले सहर उज्यालो बनाउँछन् । विद्युतीय बत्ती, मैनबत्ती र प्लास्टिकका सामग्रीले परम्परागत दियोको स्थान कब्जा गर्दै गएका छन् । कुम्हारहरूले भन्ने गर्छन्, तिहारको समयमै उनीहरूको वार्षिक आम्दानी हुने प्रमुख अवसर हो । तर अहिले त्यो पनि घट्दो क्रममा छ । पहिला सहरका हरेक पसल, मन्दिर र घरहरूबाट अर्डर आउँथ्यो, अहिले भने अर्डर आधाभन्दा पनि कम भएको छ ।
पोटरी स्क्वायरका गल्लीहरूमा पहिले माटोको गन्ध मिसिएको हुन्थ्यो, हातमा माटो मोल्नेहरू दिनरात काममा व्यस्त हुन्थे । अहिले त्यही ठाउँमा केहीमात्र मानिसहरू काम गर्दै छन् । कतिपयले कामै छोडेका छन्, केहीले वैकल्पिक रोजगारी खोज्दैछन् । तर अझै पनि केही कुम्हारहरू परम्पराको रेखा नछोड्ने दृढतामा छन् । उनीहरू विश्वास गर्छन् । यदि उपभोक्ताले परम्पराको मूल्य बुझ्ने हो भने, माटोको दियो फेरि उज्यालो बन्न सक्छ ।
रोशन प्रजापतिको अन्त्यमा भनाइ नै सबैको भावना झल्काउँछ, ‘कहिले काहीँ लाग्छ कामै छाडौं, तर अरु गर्न केही छैन । माटोको दियो हाम्रो संस्कृतिको प्रतिक हो, यो हरायो भने हाम्रो पहिचान नै हराउँछ ।’ विद्युतीय बत्तीले सहर उज्यालो पार्दैछ, तर पोटरी स्क्वायरका माटाका दियोहरू भने अँध्यारो हुँदै गएका छन् । नेपालको मौलिकता र परम्परालाई जोगाउन माटोको दियो मात्र होइन, त्यस पछाडिका कुम्हारहरूको जीवन पनि उज्यालो पार्न अब राज्य र समाज दुवैको जिम्मेवारी बनेको छ ।
प्रतिक्रिया