काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छिन् ।
शुक्रबार नेपालस्थित कुटनीतिक प्रतिनिधिहरुलाई देशको अवस्थाबारे सामूहिक रुपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।
कार्कीले भनिन्, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ । यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो । तपाईंहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग र्पुयाउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ ।’
उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तराष्ट्रिय समुदायसम्म जानकारी पुर्याइदिन आग्रह गरिन् ।
उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरुले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र नभइ सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।
उनले भनिन्, ‘यो सरकार गठन भएको एक महिना नपुग्दै, हामीले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कुप्रशासन मात्र होइन, सुधारको अपार सम्भावनासमेत देखेका छौँ, यही अवसर हो विश्वास पुनर्निर्माण गर्ने, संस्थागत सुदृढता ल्याउने, र शासन प्रणालीलाई पारदर्शिता र सेवामुखी दिशातर्फ लैजानेछ ।’
विश्वासिलो वातावरणमा चुनाव गराउन सरकार लागि परेको जानकारी कार्कीले कुटनीतिक प्रतिनिधिहरुलाई गराइन् । सुरक्षाको अवस्थामा सुधार गरेर चुनावका लागि विश्वासिलो वातावरण बनाउँदै गएको जिकिर उनले गरिन् ।
प्रतिक्रिया