Logo

मुख्य समाचार

बाजुराका महिलाहरुलाई परम्परागत ‘पानी घट्ट’ नै लोकप्रिय


३१ आश्विन २०८२, शुक्रबार  

46
Shares

बाजुरा । बाजुराका महिलाहरुलाई परम्परागत ‘पानी घट्ट’ नै लोकप्रिय बनेका छन् ।  लोप हुनेक्रम बढेपनि पानी घट्टको लोकप्रियता भने बढ्दै गएको हो । पछिल्लो समय प्रविधिको विकाससंगै बाजुराका अधिकांश ठाउँमा मिलहरु सञ्चालन भएपछि पानीघट्ट लोप हुँदै गएका छन् ।

नयाँ प्रविधिका मिलहरु सञ्चालन भएपनि परम्परागत पानीघट्टको लोकप्रियता भने घटेको छैन् । बाजुराका नौंवटै स्थानीय तहमा महिलाहरुले खोजीखोजी पानीघट्टमै दाना पिस्ने गरेका छन् । यहाँका महिलाहरुलाई मिल भन्दा पनि पानीघट्ट नै वरदान सावित छन् ।

जिल्लाका अधिकांश ठाउँमा बिजुली बत्ती, मोटर बाटोको सुविधा अपुग छ ।  पुगेका ठाउँहरूमा पनि दैनिक जीवनको लागि अति आवश्यक पर्ने कुटानीपिसनीका लागि मिल भन्दा पनि महिलाहरुले खोजीखोजी पानीघट्ट धाँउने गरेका छन् । तर पानीघट्ट पहिले जस्तो भेटिन नसक्ने अवस्थामा छन् ।

आधुनिक मिल भन्दा पनि परम्परागत पानी घट्ट नै लोकप्रिय र राम्रो हुने गरेको बडीमालिका नगरपालिका वडा नम्बर ७ की स्थानीय जुना पाध्यायले बताइन् ।

पानीघट्टमा पिसेको पिठोको परिकार खाँदा शरिर हस्टपुष्ट हुने, तागत दिने, जागरिलोपन हुने भएकाले आफूले सधैं पानी घट्टकै सहायताले पिठो पिस्ने गरेको उनले बताएकी छन् ।

घट्टमा पिसेको पिठो आधुनिक मिलमा पिँधेको भन्दा खानमा स्वादिष्ट हुन्छ, त्यसैले आफू मात्र नभई यहाँका अन्य स्थानीय महिलाहरुले समय लगाएर भएपनि मकै, गहु, कोदो लगायतका अन्न घट्टमा नै पिस्ने तर मिलमा नजाने गरेको उनको भनाइ छ ।

बढ्दो आधुनिकतासँगै पानी घट्टको प्रयोग हुन छाडेपनि घट्टको लोकप्रियता घटेको छैन। स्थानीयले उत्पादन भएका अन्नबालीलाई पिस्नको लागि घट्टलाई खोजिखोजी खोला  पिसेर गुजारा चलाउँदै आएका छन् । दिनभरि लगाएर घट्टमा पालो पर्खेर कोदो,फापर, गहुँ, मकै पिस्ने गरेको यहाँका स्थानीयवासीको भनाई छ ।

सहर–बजारमा विद्युतीय सामानको प्रयोग बढ्दो छ । धान, चिउरा, पिठो पिस्न वा तेल पेल्न विद्युतीय मोटर जडित मिलको प्रयोग हुन्छ । यसको लोकप्रियता भने कायमै छ ।

प्रविधिको विकाससँगै बिजुलीबाट चल्ने मिलमा अन्न पिस्न छिटो हुने, पानीघट्टमा जस्तो मेहेनत नलाग्ने भएकाले पानीघट्टलाई प्रयोग गर्न छोड्ने क्रम बढेको छ ।

जिल्लाका ९ वटै पालिकामा प्रविधियुक्त मिलहरु सञ्चालन छन् । परम्परागत सीप झल्किने पानी घट्ट लोप हुँदै जाँदा यिनीहरुको अस्तित्व संकटमा पर्ने चिन्ता समेत थपिएको छ । तर बाजुराका महिलाहरुको नजरमा आधुनिक मिल भन्दा पनि परम्परागत पानी घट्ट नै लोकप्रिय छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ७ : ३९ बजे