काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको संयुक्त आयोजनामा शुक्रवारबाट ‘यात्रा ट्याटु प्रदर्शनी तथा कला कार्यशाला’ सुरु भएको छ ।
कार्यक्रमको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, प्राज्ञसभा सदस्य सुन्दर सिंख्वाल र अग्रज कलाकार उदयचरण श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरे ।
समारोहमा कुलपति नारदमणि हार्तम्छालीले ट्याटु आर्टमा लोक–परम्पराको ज्ञान पनि समावेश भएको बताए । उनले भने, ‘कलाका सबै आयाम समेट्ने अभियान अनुरूप यस कार्यक्रमको आयोजना गरिएको हो । यस्ता कलाका कन्सेप्ट र कन्टेन्ट सामाजिक तथा प्राकृतिक पर्यावरणसँगै सांस्कृतिक मूल्य–मान्यता पनि जोडेर नेपाली सांस्कृतिक भावधाराअनुसार समावेश गर्दै जान सके अझ् बहुआयामिक रूपमा लान सकिन्छ ।’
सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ले नेपालका विभिन्न रैथाने समुदायमा ट्याटु कला सदियौँदेखि नै प्रचलनमा रहेको बताउँदै प्रदर्शनीमा देश तथा विदेशका ट्याटु कला एउटै मञ्चमा हेर्न सकिने बताए । उनले यस जीवन्त कलाको परम्परागत ज्ञानलाई संरक्षण तथा अभिलेखीकरण गर्नुपर्नेमा जोड दिए ।
बहुआयामिक तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले ट्याटु कला पनि ललितकलाको एउटा उपविधा भएको र यस कलालाई समयानुकूल चिनाउन पनि यस खालका कार्यक्रमको आयोजना गरिएको बताए ।
हिमालयन ट्याटु समिटका निर्देशक वृजेश श्रेष्ठले प्रतिष्ठानसँगको सहयकार्यका यस कार्यक्रमको आयोजना गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने बताउँदै प्रदर्शनी र कार्यशालामा सहभागी सबै कलाकारप्रति आभार व्यक्त गरे ।
अग्रज कलाकार उदयचरण श्रेष्ठले अन्य आर्ट फर्मझ्ँै यो पनि कलाको एक रूप भएको बताए । उनले समय परिस्थितिअनुरूप उपलब्ध रहेको कला सामाग्री प्रयोग गरी ट्याटु कला सिर्जना गर्ने गरेको र यो कला नेवाः सभ्यतामा पनि रहको धारणा राखे ।
प्रदर्शनीमा नेपालका ७२ कलाकार र सिङ्गापुर, थाइल्यान्ड, भारत, भियतनाम, स्विटजरल्यान्ड, ग्रिस, युएसए, मलेसिया र अस्ट्रियाका क्रमशः ७, ३, ३, १, १, २, १, १, १ कलाकारका कलाकृति समावेश छन् ।
प्रतिक्रिया