Logo

मुख्य समाचार

उषाकिरण तिम्सिनाद्वारा ओलीको राजीनामाको माग, एमाले केन्द्रीय बैठकमा गम्भीर प्रश्न उठाइन्


३१ आश्विन २०८२, शुक्रबार  

69
Shares

काठमाडौं – नेकपा (एमाले) की केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेकी छन्। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा जारी एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन शुक्रबार उनले यस्तो माग राखेकी हुन्।

तिम्सिनाले देशको राजनीतिक गतिरोध अन्त्य गर्न ओलीको राजीनामा आवश्यक रहेको बताउँदै, अहिलेको संरचना लिएर न चुनावमा जान सकिने न आन्दोलन गर्न सकिने धारणा व्यक्त गरिन्। उनले भनिन्, “अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ। यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन।”

उनका अनुसार अहिले नेपाली राजनीतिको प्रमुख कार्यभार दलहरूको पुनर्गठन हो, जसको थालनी कांग्रेसले गरिसकेको उल्लेख गर्दै उनले एमालेभित्र पनि नेतृत्वमा परिवर्तन आवश्यक रहेको धारणा राखिन्। “यहाँले (ओलीले) बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ,” उनले भनिन्।

तिम्सिनाले ओली नेतृत्वमा वाम आन्दोलन र समग्र कम्युनिस्ट आन्दोलन कमजोर भएको आरोप पनि लगाइन्। उनले एमाले–माओवादी एकता र त्यसपछिको विघटनप्रति संकेत गर्दै भनिन्, “नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो। तर, त्यसलाई हामीले कस्ताकस्ता अभ्यास र कस्ता ध्वंसात्मक क्रियाकलापमार्फत खण्डित गर्यौँ, सम्झिऊँ। निराशा त्यहीँबाट सुरु भएको हो।”

उनले हालैको जेनजी आन्दोलनको क्रममा भएको सार्वजनिक सम्पत्तिको नोक्सानीको जिम्मेवारीबारे समेत प्रश्न उठाउँदै, त्यसको नैतिक जिम्मेवारी तत्कालीन नेतृत्वले लिनुपर्ने बताइन्। “अस्ति भर्खर ससाना नानीहरूको कत्लेआम भयो। खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो?” भन्दै उनले ओलीलाई सोधिन्।

तिम्सिनाले प्रहरीको कारबाहीमा मात्रै दोष देखाएर उम्कन नहुने बताउँदै, “गोली हान्ने प्रहरीको हवल्दारले लिने हो कि आईजीपीलाई भागिदार बनाउने हो? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ, कमरेड?” भनेर ओलीसँग उत्तर मागिन्।

एमाले केन्द्रीय कमिटीको बैठक अझै जारी छ। तेस्रो दिन बैठकमा नेताहरूले पार्टीको आन्तरिक संरचना, सरकार र प्रतिपक्षको भूमिकाबारे धारणा राखेका छन्।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  १२ : ५३ बजे