सुर्खेत — नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालय सुर्खेतले कर्णाली प्रदेशभर सञ्चार सेवाको पहुँच विस्तारका लागि कार्य तीव्र पारेको छ।
निर्देशक डा. कमल लामिछानेका अनुसार हालसम्म प्रदेशका ३७ पालिकामा सञ्चार सेवा विस्तार गरिएको छ। थप ५० पालिकासम्म सेवा पुर्याउन सर्भे कार्य जारी रहेको उनले बताए।
“ग्रामीण र दुर्गम क्षेत्रमा नेटवर्क सुदृढीकरण गर्दै सञ्चार पहुँच बढाउने लक्ष्यका साथ काम अघि बढाइएको छ,” उनले भने। “कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सुर्खेतसम्म जोडिएपछि फाइबर नेट विस्तार सहज हुनेछ।”
निर्देशनालयले सुर्खेतको चिङ्गाड गाउँपालिकासम्म फाइबर नेट विस्तारको तयारी गरेको छ। यसका साथै दैलेख, कालीकोट, जुम्ला र सिञ्जासम्म फाइबर सेवा विस्तारका काम भइरहेका छन्।
केन्द्रीय योजनाअन्तर्गत अपर डोल्पा, रुकुमपश्चिम, जाजरकोट, सुर्खेतको लेखफर्सालगायत १० स्थानमा बिटीएस सेवा सञ्चालनमा ल्याइएको निर्देशक लामिछानेले जानकारी दिए। उनका अनुसार प्राविधिक टोलीले घरदैलो स्तरमा सेवा विस्तारका तयारी अघि बढाइरहेको छ।
विद्युतीकरण सुदृढ भए सञ्चार सेवा विस्तार अझ सहज हुने बताउँदै उनले प्रदेशभरका ३० साइटका लागि नेपाल विद्युत् प्राधिकरणलाई पेश्की रकम उपलब्ध गराइएको जानकारी दिए।
हालसम्म दुर्गम बस्तीका १६ स्थानीय तहका बजार क्षेत्रमा सञ्चार सेवा पुगेको र ‘डिजिटल कर्णाली कन्क्लेभ’ परिकल्पनाअनुसार काम भइरहेको पनि उनले उल्लेख गरे।
डोल्पाको मुड्केचुलामा बिटीएस सेवा स्थापना कार्य भइरहेको र आवश्यक परे रिङ नेटमार्फत सेवा सञ्चालन गरिने उनले बताए। सुर्खेत आसपासका क्षेत्रमा फोरजी सेवा विस्तारका काम पनि भइरहेको निर्देशनालयले जनाएको छ।
नेपाल टेलिकम कर्णाली निर्देशनालयले हुम्लाको हिल्सामा पनि यही वर्षभित्र फोरजी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया