काठमाडौं । रुस–युक्रेन युद्धविरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हंगेरीमा भेट्ने तयारीमा छन्। बिहीबार भएको टेलिफोन वार्तापछि ट्रम्पले दुई देशबीच ‘ठूलो प्रगति’ भएको बताएका छन्।
ट्रम्पका अनुसार अगस्टपछि पुटिनसँगको यो पहिलो वार्ता ‘अति फलदायी’ रह्यो। उनले बुडापेस्टमा हुने भेटको मिति भने खुलाएका छैनन्। बीबीसीका अनुसार वासिङ्टन र मस्कोका प्रतिनिधि टोलीहरू अर्को हप्ता प्रारम्भिक वार्ताका लागि भेट्ने भएका छन्।
क्रेमलिनले पनि वार्तालाई ‘अत्यन्तै स्पष्ट र विश्वासपूर्ण’ भनेको छ र शिखर बैठकको तयारी सुरु गरिएको जनाएको छ।
यो वार्ता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको ह्वाइट हाउस भ्रमणको एक दिनअघि भएको हो। हालै ट्रम्प प्रशासनले युक्रेनलाई रुसको भित्री भागसम्म प्रहार गर्नसक्ने टमहक मिसाइल उपलब्ध गराउने तयारी गरेको जनाइएको थियो।
अमेरिका पुग्ने क्रममा जेलेन्स्कीले मस्कोले मिसाइलबारे सुनेपछि संवाद पुनः सुरु गर्न हतार गरेको टिप्पणी गरेका छन्।
वार्तापछि ट्रम्पले सामाजिक सञ्जालमा पुटिनसँग युक्रेन युद्धपछि अमेरिका–रुस व्यापार सम्बन्धबारे पनि लामो छलफल भएको बताएका छन्। उनले विदेशमन्त्री मार्को रुबियोको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल अर्को हप्ता उच्चस्तरीय बैठकमा सहभागी हुने जनाएका छन्।
ट्रम्पले पुटिनसँगको फोनवार्ताबारे जेलेन्स्कीलाई शुक्रबार जानकारी दिने र दुई हप्ताभित्र पुटिनसँग भेट हुने अपेक्षा व्यक्त गरेका छन्।
मिसाइल आपूर्तिसम्बन्धी प्रश्नमा ट्रम्पले अमेरिकी टमहक भण्डार घटाउन नसकिने भन्दै, “हामीलाई पनि तिनीहरूको आवश्यकता छ,” प्रतिक्रिया दिएका छन्।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले बुडापेस्ट बैठकलाई “विश्वका शान्तिप्रेमीहरूका लागि ठूलो खबर” भनेका छन्। उनले युरोपले अहंकार त्यागी संवादको बाटो रोज्नुपर्ने भन्दै केवल वार्ताबाटै महादेशमा शान्ति सम्भव हुने बताएका छन्।
अगस्टमा अलास्कामा भएको शिखर बैठकले ठोस नतिजा नदिएपछि ट्रम्प र पुटिनबीचको यो प्रस्तावित भेटलाई युद्धविराम वार्ताको निर्णायक चरणको रूपमा हेरिएको छ।
प्रतिक्रिया