हेटौंडा । हाइटेन्सन लाइन पीडित संघर्ष समितिले नेपाल विद्युत प्राधिकरण र नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनालाई हेटौंडा–धल्केवर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन निर्माण कार्य तत्काल रोक्न माग गरेको छ ।
समितिले २०८२ असोज १९ गते नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिहरूसँग भएको छलफलमा उचित सहमति नजुटेको र प्रभावित स्थानीय नागरिकको हकहित बेवास्ता गरिएको भन्दै पुनः विरोध स्वरूप चेतावनी पत्र जारी गरेको हो ।
समितिका अनुसार, प्रसारण लाइनका टावरहरू हेटौंडा–१६ को हिलेटार र आसपासका बस्ती हुँदै जाँदा स्थानीय बासिन्दाको जग्गा र बस्ती प्रभावित हुने देखिएको छ । प्रभावितहरूले उचित मुआब्जा, पुनःस्थापनाको व्यवस्था र वैकल्पिक मार्ग निर्धारण नगरी जबर्जस्ती टावर निर्माण कार्य अघि बढाइएको भन्दै आपत्ति जनाएका छन् ।
संघर्ष समितिका संयोजक हरि प्रसाद बानियाँद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘स्थानीय नागरिकको सहमति विना जबर्जस्ती टावर निर्माण गर्ने कार्य गैरकानूनी र अन्यायपूर्ण भएकोले तत्काल स्थगन गरिनुपर्छ ।’
समितिले आगामी असोज २२ गते हेटौंडा–१६ स्थित सभाहलमा सर्वसाधारण र प्रभावित नागरिकको भेलाको आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने बताएको छ ।
उक्त पत्रको प्रतिलिपि मकवानपुर जिल्ला प्रशासन कार्यालय र हेटौंडा उपमहानगरपालिकामा समेत पठाइएको छ ।
प्रतिक्रिया