काठमाडौं । माडागास्करमा जारी जेनजी आन्दोलनपछि सेनाले सत्ता कब्जा गरेको छ। लगातारको विरोध प्रदर्शनबीच राष्ट्रपति एन्ड्री राजोइलिना देश छोडेपछि सेनाका कर्नेल माइकल रान्ड्रियानीरिनाले आफूलाई कार्यवाहक राष्ट्रपति घोषित गरेका छन्।
सीएपीएसएटी नामक विशिष्ट सैन्य एकाइका वरिष्ठ अधिकारी रान्ड्रियानीरिनाले मंगलबार सेनाले देशको नेतृत्व सम्हालेको घोषणा गरेका हुन्। उनले निकट भविष्यमा औपचारिक रूपमा शपथ ग्रहण गर्ने बताएका छन्।
गत शनिबार रान्ड्रियानीरिनाको नेतृत्वमा सीएपीएसएटीले विद्रोह गर्दै प्रदर्शनकारीहरूसँग हातेमालो गरेको थियो। सेनाको गुटले राष्ट्रपतिलाई राजीनामा दिन माग गरेपछि राजोइलिना देश छोडेर भागेका थिए।
रान्ड्रियानीरिनाले सोमबार देशमा राष्ट्रपति, प्रधानमन्त्री र संसद् निष्क्रिय बनेको भन्दै आफूले जिम्मेवारी लिएको घोषणा गरेका थिए। माडागास्करको संवैधानिक अदालतले पनि उनलाई अन्तरिम रूपमा राष्ट्रपति पद सम्हाल्न अनुमोदन गरेको छ।
नवनियुक्त अन्तरिम राष्ट्रपति रान्ड्रियानीरिनाले देशमा राजनीतिक संकट अन्त्य गर्न तत्काल नयाँ सरकार गठन र नयाँ प्रधानमन्त्री नियुक्त गर्ने योजना सार्वजनिक गरेका छन्।
सन् २०१८ देखि सत्तामा रहेका राजोइलिनाले सेनाको कदमलाई “गैरकानुनी सैन्य हस्तक्षेप” भन्दै विरोध जनाएका छन्। उनले आफ्नो सुरक्षाका कारण देश छोडेको दाबी गरेका छन्।
माडागास्करले सन् १९६० मा फ्रान्सबाट स्वतन्त्रता पाएपछि अहिलेसम्म धेरै पटक सत्तापलटको सामना गरेको छ। पूर्वराष्ट्रपति राजोइलिना स्वयं सन् २००९ मा सेनाको समर्थनमा सत्तामा आएका थिए।
प्रतिक्रिया