काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालमा राजनीतिक स्थिरता नहुनुको कारण नेपालको शासकीय स्वरुप र निर्वाचन प्रणाली रहेको बताएका छन् ।
बुधबार नेपालमा वर्तमान विषम परिस्थितिको बारेमा आफ्नो धारणा राख्दै उनले अहिलेको सिस्टमलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । वर्तमान व्यवस्थालाई उनले दलतन्त्रको ओढारको संज्ञा दिए ।
दलतन्त्रको लुट र भ्रष्टाचारविरुद्ध तेस्रो जनआन्दोलन आवश्यक रहेको पनि उनले बताए । अहिलेको व्यवस्था रहँदासम्म देशलाई प्रगतिको दिशामा लान सकिँदैन भनेर आफूहरुले तेस्रो जनआन्दोलनको उद्घोष गरेको उनले बताए ।
‘मेरो विचारमा केपी र देउवाको गठबन्धन थियो । ती दुईवटा गुटबाहेक जति पनि राजनीतिक दलहरु थिए, तिनीहरुको कुनै न कुनै ढंगलको समर्थन जेन–जी आन्दोलनप्रति थियो । आम जनविद्रोहमा सहभागिता थियो भनेर यो कुरालाई स्वीकार गर्नुपर्छ,’ उनले भने ।
साथै उनले आफूहरुको तेस्रो जनआन्दोलनको बलमा जेन–जीहरुले भ्रष्टाचारविरुद्धको अभियान उठान गरेको पनि उनले बताए ।
नेता साहले गत भदौ २३ गते मात्रै जेन–जीको आन्दोलन रहेको र २४ गते हत्यारा सरकारको विरुद्ध आम जनता सरकारमा आएको बताए ।
तर, जेन–जी आन्दोलनलाई संस्थागत गर्ने दिशामा जानुको सट्टा जेन–जीको नाम भजाएर विदेशीको पोल्टामा लगेर थुपार्दिने काम भएको बताए । आजको सरकार र सबै आन्दोलनको जस अबजस राजदूतावासले तय गर्ने स्थिति बनाइएको उनको टिप्पणी छ । आम नेपाली जनताले बदलावको लागि लडेको भए पनि जेन–जी आन्दोलन कसैलाई कुर्सी दिनका लागिमात्रै नरहेको उनको भनाइ छ ।
नेपाली जनताले कांग्रेस र एमालेको अपवित्र राजनीतिलाई निधेष गरिदिएको पनि उनले बताए । नेता साहले सुशीला कार्की आम जनताको स्वामित्वमा नभएर तिरस्किृत नेताहरुको प्रस्तावमा प्रधानमन्त्री बनेको टिप्पणी गरे ।
साथै, प्रधानमन्त्री कार्कीले करारको कर्मचारी हठाउने निर्देशन दिएर अन्याय गरेको पनि बताए । दरबन्दी सिर्जना गरेर उनीहरुलाई स्थायी गराउनुको सट्टा प्रधानमन्त्री कार्कीले गरिब जनतालाई दुःख दिने र रुवाउने काम गरेको बताए ।
उनले करारको कर्मचारी हटाउने निर्णय फिर्ता लिन पनि सरकारलाई सुझाव दिए । यदि उक्त निर्णय फिर्ता नलिइएको खण्डमा आजपाले देशभरका करारका कर्मचारीहरुलाई काठमाडौंमा उतार्ने पनि उनले चेतावनी दिए ।
वर्तमान संविधानमा नेपालको कुनै पनि जनता भूमिहीन हुनेछैन, घरबारविहीन हुने छैन, सुकुम्बासी र भूमिहीनलाई जग्गा देऊ भनिराखेको नेता साहको भनाइ छ । वर्तमान सरकारले संविधानको उक्त प्रावधानलाई अपमान गरेरे भूमि समस्या समाधान आयोग खारेज गरेको उनले बताए ।
उनले पूर्व प्रधानमन्त्री केपी ओलीले नियुक्ति गरेको गलत मान्छेलाई हटाउनुको सट्टा प्रधानमन्त्री कार्कीले आयोग नै खारेज गरिदिएको भन्दै आपत्ति जनाए । प्रधानमन्त्री कार्कीले सुकुम्बासीलाई रुवाउने, श्रेणीविहीन कर्मचारीहरुलाई आतङ्कित बनाउनेजस्ता गरिबमारा काम गरिरहेको उनले बताए ।
अहिले दुनियाँले विदेशी डलरबाट बनेको एनजीओहरुले देश चलाइरहेको आरोप लगाइरहेको बताउँदै नेता साहले प्रधानमन्त्री कार्कीसँग यस आरोपको जवाफ मागे । अहिले यो सरकार एउटै म्यानडेट चुनाव गराउने गरी बनेको भए पनि यसले चुनाव गराउँछ कि गराउँदैन भन्ने अन्यौलता दुनियाँमा रहेको बताए । चुनाव गराउनका लागि भयरहित वातावरण हुनुपर्नेमा त्यसको प्रत्याभूति सरकारले दिन नसकिराखेको उनले बताए ।
उनले देश अब चुनावमा गइसकेको बताउँदै चुनाव भाँड्न दायाँबायाँ गर्ने अधिकार कसैलाई पनि नरहेको बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको अनैतिकताले अहिलेको दुर्दशा भएको उनको आरोप छ । उनले सभामुख देवराज घिमिरेले संसद् पुनस्र्थापनाको पक्षमा टाउको नउठाउन आग्रह गरे ।
‘अब देश चुनावमा जानुपर्छ । सरकारले चुनावमा भयरहीत वातावरण बनाउनुपर्छ । हामीलाई चुनाव चाहिएको छ । शान्तिपूर्ण निकास चाहिएको छ । यसको लागि नेपाली जनता अब चुप लाग्दैनन् । तपाईँहरुको तमासा अब हामी हेरेर बस्दैनौं । देशलाई लोकतान्त्रिक ट्रयाक दिनुस् । हामीले चाहेका थियो–जनताको जनविद्रोहको सम्बोधन होस्,’ उनले भने ।
प्रतिक्रिया