Logo

अर्थ

नेप्सेमा आन्दोलन २३ दिनदेखि जारी, कर्मचारीले सीईओ र अध्यक्षको राजीनामा मागे



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीको आन्दोलन २३ दिनदेखि जारी छ । बुधबार पनि उनीहरूले प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं र अध्यक्ष हेमन्त बस्यालको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन् ।

कर्मचारीहरूले कार्यालयमा सूचना टाँसेर हराएका सीईओ चापागाईंको खोजी गरेका छन् । सूचनामा “नेप्सेका सीईओ चुडामणि चापागाईं हराइरहेको सूचना” उल्लेख गरिएको छ । कर्मचारीले विरोध प्रदर्शन सुरु गरेपछि सीईओ चापागाईं कार्यालय नआएको र त्यसका कारण आवश्यक निर्णयहरू रोकिएका छन् । दैनिक प्रशासन भने कर्मचारीहरूले नै सञ्चालन गरिरहेका छन् ।

आन्दोलनको मूल कारण बोनस वितरण विवाद रहेको छ । अर्थ मन्त्रालयले नेप्सेका कर्मचारीलाई एक प्रतिशत बोनस वितरण गर्न स्वीकृति दिएपछि कर्मचारीले श्रम अदालतमा मुद्दा दायर गरेका थिए । श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरे पनि सञ्चालक समिति र सीईओले त्यसको कार्यान्वयन नगरी नाफाको पाँच प्रतिशत नगद लाभांश वितरण रोकिएको कर्मचारीको आरोप छ ।

कर्मचारीले सो निर्णयविरुद्ध सञ्चालक समितिले सर्वोच्च अदालतमा रिट दायर गरेपछि आक्रोश बढेको हो । उनीहरूले अर्थ मन्त्रालयसँग छलफलमार्फत समस्या समाधान गर्न सकिने विषय सर्वोच्चसम्म लगिएको भन्दै आपत्ति जनाएका छन् ।

नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले सञ्चालक समिति र सीईओले सर्वोच्चमा दायर रिट फिर्ता लिएर गल्ती स्वीकार गर्नुपर्ने माग गरेका छन् । “हाम्रो माग ठूलो छैन, निर्णय फिर्ता गरी कर्मचारीसँग छलफलमा आउनुपर्छ,” उनले भने ।

तर सीईओ चापागाईंले बोनस (चौथो संशोधन) नियमावली, २०३९ को नियम ६ अनुसार कर्मचारीको माग पूरा गर्न नसकिने बताएका छन् । “नियमसंगत लाभांश वितरणका लागि सर्वोच्चले बाटो खोलिदिए विवाद समाधान हुन्छ,” उनले भने ।

हाल कर्मचारीहरूले कालोपट्टी बाँधेर दैनिक काम गरिरहेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ४ : ३४ बजे