Logo

मुख्य समाचार

फलफूलका बोटलाई प्रणालीमा ल्याउन निर्देशिका आवश्यक : कृषि सचिव



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव (कृषि विकास) डा. गोविन्द प्रसाद शर्माले फलफूलको बोटको हकमा मापदण्ड र निर्देशिका बनाएर अगाडि बढ्ने तयारी भईरहेको बताएका छन् ।

१८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी उद्घाटन समारोहमा बोल्दै उनले नर्सरीको निर्देशिका कानून मन्त्रालयबाट फिर्ता आएको उल्लेख गर्दै फलफूलको बोटको हकमा आएको मापदण्डलाई निर्देशिका बनाएर नै अगाडि लानुपर्ने बताएका हुन् ।

उनले, ‘तपार्इंहरुको यो व्यवसायलाई जति नै सिस्टममा ल्यायो त्यति नै राम्रो हुन्छ । यसमा मन्त्रालयले कसरी सहयोग गर्न सक्छ भन्ने कुरामा सँगै बसेर छलफल गर्नुपर्ने हुन्छ । हामीले नर्सरीको निर्देशिका पनि बनाएर कानून मन्त्रालयमा पठायौं तर फिर्ता भयो । तर हामीले फलफूलको बोटको हकमा मापदण्ड बनाएका छाँै र यसलाई पनि विस्तारै नियमन गर्ने सन्दर्भमा निर्देशिका बनाएर जाने भनेर हाम्रो तयारी भईरहेको छ ।’

यस्तै, उनले राष्ट्रिय रुपमा कृषि क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हिसाबमा कृषि विधेयक र कृषि नीति दुवै तयार भईसकेको पनि बताए ।

उनले भने, ‘हाम्रो उद्देश्य के हो भने आयातित वस्तुहरुलाई भन्दा पनि राष्ट्रिय सुरक्षाको हिसाबले, कृषि सुरक्षाको हिसाबले र उद्यमीहरुको सुरक्षाको हिसाबले आन्तरिक रुपमा उत्पादन प्रवद्र्धन गर्ने र राष्ट्रिय रुपमा यो क्षेत्रलाई सुरक्षा दिनुपर्छ भन्ने हाम्रो बुझाई हो र त्यो बुझाई अनुसार अहिलेको एउटा कृषि विधेयक र अर्को कृषि नीति यी दुवै विषय तयार भईसकेको छ ।’

साथै, यो क्षेत्रको समस्याहरुको बारेमा सबै बसेर छलफल गरेर समाधानको बाटोमा अगाडि बढ्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  १ : ५४ बजे