मुगु । डिभिजन वन कार्यालय मुगुको आयोजनामा आगलागी नियन्त्रण र सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धिका लागि विशेष डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमको आयोजना गरी जंगलमा आगलागी हुने जोखिम बढ्दै गएको र जंगल वा बस्तीमा आकस्मिक रूपमा आगो लागेपछि अपनाउनुपर्ने तत्कालीन उपाय, प्रयोग गर्न सकिने सामग्री, र सुरक्षाका सावधानीबारे विस्तृत जानकारी दिइएको हो ।
सशस्त्र प्रहरी बल गुल्म नम्बर ४५ गुल्म मुगुको टोलीले ग्यासबाट लाग्ने आगो नियन्त्रण गर्ने व्यावहारिक अभ्यास देखाएको थियो । टोलीले सिलिन्डरमा आगो लागेपछि तुरुन्तै ग्यासको भल्भ बन्द गर्ने, फायर ब्ल्यांकेट वा कपडा प्रयोग गर्ने, हातको औँला प्रयोग गर्ने व्यवहारिक उपायहरू प्रदर्शन गरेका थिए । त्यसैगरी, गमगाढ विद्युत् वितरण केन्द्रका प्राविधिकहरूले विद्युत् सर्ट भएर लाग्ने आगो नियन्त्रणका उपाय प्रस्तुत गर्दै मुख्य स्विच बन्द गर्ने, सर्टको कारण पत्ता लगाउने र बिजुली उपकरण प्रयोग गर्दा सावधानी अपनाउनुपर्नेबारे जानकारी गराए ।
कार्यक्रममा डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख बसन्ती बुढाले विगत केही वर्षयता मुगुमा बारम्बार हुने जङ्गल डढेलोका कारण वन स्रोत, वन्यजन्तु र मानवीय जीवनमा परेको क्षतिबारे जानकारी दिँदै आगलागी नियन्त्रण सबैको साझा जिम्मेवारी भएको बताइन् ।
उनका अनुसार यस्तो जनचेतनामूलक डेमो प्रदर्शनले गाउँघरका बासिन्दामा सचेतना फैलाउने र आपत्कालीन अवस्थामा तुरुन्त प्रतिक्रिया गर्न सहजता पुर्याउने अपेक्षा गरिएको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भामले मानवीय लापरवाहीकै कारण धेरै आगलागी हुने भएकाले अब आगो लगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याइने बताए ।
उनले आगलागी नियन्त्रणमा सबै निकायको सक्रिय सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । आगलागी सम्बन्धि सूचना दिनेलाई प्रोत्साहन स्वरुप पुरस्कार दिईने नगर प्रमुख भामले बताए ।
कार्यक्रममा नगर उप–प्रमुख ऐश्वर्य मल्ल, प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, सुरक्षा निकायका प्रमुखहरू, स्थानीय बासिन्दा, तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यसैबीच जिल्ला प्रहरी कार्यलय मुगुले पनि आर्थिक वर्ष २०८२–०८३ को पहिलो त्रैमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ ।
तीन महिनामा जिल्ला प्रहरी कार्यालय मुगुले गरेका क्रियाकलापका बारेमा नागरिकलाई जानकारी दिने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
प्रतिक्रिया