पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भाद्र २३ र २४ गते भएको आन्दोलनमा जेनजीको नाममा अन्य स्वार्थ बोकेका व्यक्तिहरुले देशमा विध्वंस मच्चाएको बताएका छन् ।
मंगलबार पोखरामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशनको ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जेनजीहरुको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा मात्र भएको भन्दै यस्तो किसिमको अपराधिक क्रियाकलापमा जेनजीको संलग्नता नरहेको विश्वास व्यक्त गरे ।
उनले भने, ‘चाहे मालपोतमा होस् । चाहे त्यो उपत्यका नगर विकास समिति होस् स्वार्थ पूरा गर्नको लागि क्षति गरे । जेनजीको नाम मात्र हो । जेनजीले यो प्रकारको काम गर्नै सक्दैनन् । उहाँहरुको योजना यस्तो थिएन भनिराख्नु भएको छ । भवनहरु बस्न लायक नछोडी जलाइएको छ, यो खालको अपराधिक काम गर्ने जेनजी होईन् । उहाँहरुको नारा भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा थियो ।’
त्यस्तै उनले पोखराको सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको कार्यालयमा आगजनि हुँदा त्यसको कुनै पनि रेकड आफूहरुसँग नरहेको बताए । यद्यपी सफ्टवेयरहरु बचेको हुँदा धेरै रेकर्डहरु बचाउन सकिने उनको अनुमान छ ।
‘काठमाडौंपछि काँस्की जिल्ला धेरै जग्गा जमिन किनेको जिल्ला हुनुपर्छ । यहाँ जतिपनि डकुमेन्टहरु थिए । काँस्कीका मात्रै थिएनन् । जसले यहाँ खरिद् बिक्रि गर्नुभयो उहाँहरुको पनि डकुमेन्ट थियो । पोखरा महानगरपालिकाकै कुरा गर्दा पनि एक लाख ४८ हजार सात सय २५ घर छ । ती सबै घरसँग सम्बन्धित सम्पूर्ण अचल सम्पति भएको यो कार्यालय आज हामीसँग त्यसको कुनै पनि रेकर्ड छैन् । हाम्रो सफ्टवेयरहरु हामीसँग बचेको हुँदा धेरै रेकर्डचाँही बचाउन सक्छौं होला ।’
प्रतिक्रिया