Logo

समाचार

टीओबी समूहका तेन्जिङ दावा अभद्र कसुरमा पक्राउ, पेस्तोलसहित देखिएको भिडियो सार्वजनिक



काठमाडौं । काठमाडौं प्रहरीले ‘टीओबी’ (तिब्बतियन ओरिजिन ब्लड) लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको अभियोगमा तेन्जिङ दावा नामक व्यक्तिमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ।

दावा आइतबार साँझ पक्राउ परेका हुन्। प्रहरीले उनलाई सोमबारदेखि अभद्र कसुरअन्तर्गत अनुसन्धान सुरु गरेको जनाएको छ।

दावाले काठमाडौंको बिजुलीबजारस्थित पुल क्षेत्रमा एक युवाबाट पेस्तोल लिँदै कम्मरमा भिरेको दृश्यसहितको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको ध्यानाकर्षण भएको थियो। उक्त भिडियोका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

यसबाहेक, हालैको ‘जेनजी’ प्रदर्शनमा टीओबी समूहले घुसपैठ गरी प्रदर्शनलाई हिंसात्मक बनाउने प्रयास गरेको भन्ने आरोपसमेत लागिरहेको छ। उक्त समूहका गतिविधिबारे समेत प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यस सम्बन्धमा संलग्न अन्य व्यक्ति वा समूहबारे पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ७ : ०५ बजे