Logo

अर्थ

हबिब बैंकको सेयर बेच्न राष्ट्र बैंकको स्वीकृति, नेसनल लाइफको स्वामित्व १४.१८ प्रतिशत पुग्ने



काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकमा रहेको पाकिस्तानी हबिब बैंकको सेयर बिक्री गर्न स्वीकृति दिएको छ। हबिब बैंकको संस्थापक सेयर नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खरिद गर्ने प्रस्ताव स्वीकृत भएसँगै अब सो सेयर कारोबार अघि बढ्नेछ।

हिमालयन बैंकले गएको जेठ ३० गते ३५ दिने सूचना जारी गरी हबिब बैंकका नाममा रहेको संस्थापक सेयर बिक्री प्रक्रिया थालेको थियो। सो सूचनामा बैंकको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा तोकिएको थियो। सोहीअनुसार नेसनल लाइफले प्रतिकित्ता ११८ रुपैयाँ ८८ पैसाको दरमा सेयर खरिद गर्ने प्रस्ताव गरेको थियो।

नेसनल लाइफले हबिब बैंकको नाममा रहेको दुई करोड ८० लाख १२ हजार ४४७.४५ कित्ता सेयर खरिद गर्न लागेको हो। यस अनुसार कुल तीन अर्ब ३३ करोड एक लाख १९ हजार ७५२ रुपैयाँ ४५ पैसाको कारोबार हुनेछ।

हाल हिमालयन बैंकको कुल २२ करोड ५८ लाख १६ हजार ६२७ कित्ता सेयर जारी छ। यसमध्ये नेसनल लाइफको स्वामित्वमा २८ लाख २२ हजार ७०८ कित्ता सेयर (१.२५ प्रतिशत) रहेको छ। हबिब बैंकको सेयर खरिद गरेपछि नेसनल लाइफको स्वामित्व बढेर तीन करोड आठ लाख ३५ हजार १५५.३ कित्ता (१४.१८ प्रतिशत) पुग्नेछ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) अनुसार बैंक/वित्तीय संस्थाले सञ्चालनको पाँच वर्षभित्र संस्थापक सेयर बिक्री गर्न पाउँदैनन्। पाँच वर्षपछि पनि संस्थापक सेयर संस्थापक समूहभित्रै बिक्री गर्नुपर्ने प्रावधान छ। उक्त सेयर समूहभित्र बिक्री हुन नसकेको अवस्थामा मात्र अन्यत्र बिक्री गर्न पाइन्छ।

यसअघि हबिब बैंकले २०७६ सालमा पनि सेयर बिक्रीको प्रयास गरेको थियो। बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन ग्रुप (CDC) सँग सेयर खरिदको सम्झौता लगभग पक्का भए पनि सञ्चालकहरूको विरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन। त्यसपछिको प्रयासमा कर्मचारी सञ्चय कोषले सेयर खरिद गर्न चाहेको भए पनि त्यो सम्भव भएको थिएन।

राष्ट्र बैंकको स्वीकृतिपछि अब हिमालयन बैंक र नेसनल लाइफबीच सेयर खरिद–बिक्री प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  २ : ५४ बजे