काठमाडौं । हमासको कब्जाबाट मुक्त भएका सात जना इजरायली बन्धकहरू सुरक्षित रूपमा इजरायल प्रवेश गरेका छन् ।
अहिले आफ्ना परिवारसँग उनिहरुको पुनर्मिलन भइरहेको इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले पुष्टि गरेको छ ।
आईडीएफको म्यानपावर डाइरेक्टोरेटका अधिकारी र चिकित्सक टोलीले ती बन्धकहरू इतान मोर, अलोन ओहेल, जिभ बर्मान, गाली बर्मान, गाइ गिलबोआ–डालाल, ओम्री मिरान र मातान एङ्ग्रेष्ट लाई दक्षिणी इजरायलस्थित स्वास्थ्य केन्द्रमा प्रारम्भिक स्वास्थ्य परीक्षणका लागि साथ दिएका छन् ।
आईडीएफका अनुसार अस्पतालमा परिवारका सदस्यहरू पनि उपस्थित छन् र पुनर्मिलनको क्रममा नियमित रूपमा जानकारी दिइरहेको छ ।
‘आईडीएफका प्रतिनिधिहरू अस्पतालमा प्रतीक्षा गरिरहेका सबै परिवारका सदस्यहरूलाई निरन्तर जानकारी दिइरहेका छन् । साथै, आईडीएफ रेडक्रसमार्फत थप बन्धकहरू आइपुग्ने तयारीमा पनि छ,’ विज्ञप्तिमा भनिएको छ ।
इजरायली प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत विज्ञप्ति जारी गर्दै मुक्त बन्धकहरू सुरक्षित फर्किएकामा खुसी र ऐक्यबद्धता व्यक्त गरेको छ । विज्ञप्तिमा भनिएको छ,‘इजरायल सरकारले आफ्ना बन्धकहरू अलोन ओहेल, मातान एङ्ग्रेष्ट, गाली बर्मान, जिभ बर्मान, गाइ गिलबोआ–डालाल, इतान मोर र ओम्री मिरानलाई अङ्गालोमा लिएको छ । सरकार सबै बन्धकहरूलाई फिर्ता ल्याउने प्रतिबद्धतामा दृढ रहन्छ र त्यसका लागि निरन्तर प्रयास गर्नेछ ।’
आईडीएफले मुक्त बन्धकहरूलाई हमासले रेडक्रसलाई हस्तान्तरण गर्ने र त्यसपछि उनीहरूलाई इजरायल प्रवेश गराइने क्षणको भिडियो फुटेज पनि सार्वजनिक गरेको छ ।
रेडक्रसको साथमा सुरक्षित स्थानमा पु¥याइयो
टाइम्स अफ इजरायलका अनुसार रेडक्रसको कन्भोयले ती बन्धकहरूलाई इजरायली सीमा हुँदै सुरक्षाकर्मीहरूको साथमा रेइम नजिकैको सैनिक सुविधामा पु¥याएको थियो । त्यहाँ उनीहरूले चिकित्सा र मनोवैज्ञानिक परीक्षण पूरा गरेपछि आफ्ना परिवारसँग भेट गर्नेछन् ।
यसैबीच, आईडीएफले अर्को रेडक्रस कन्भोय दक्षिणी गाजातर्फ गएको र आजै थप बन्धकहरूलाई संकलन गरेर इजरायल ल्याउने तयारी भइरहेको जनाएको छ ।
दुई वर्षपछि बन्धकहरू मुक्त हुने क्रममा केही भावनात्मक दृश्यहरू पनि सार्वजनिक भएका छन् । भिडियो फुटेजमा परिवारका सदस्यहरूले आफ्ना प्रियजनसँग अन्तिम बार्ता गर्दै गरेको देखिन्छ ।
टाइम्स अफ इजरायलका अनुसार, बन्धक एभियातार डेभिडका बुबा अविशाई डेभिडले च्यानल १२ सँग कुरा गर्दै भने, ‘हामी हाम्रा छोरा एभियातारलाई अँगालोमा लिन, उनको गन्ध सुन्न र सास फेर्न आतुर छौँ,’ उनले यसो भन्नुका क्रममा आँसु रोक्न सकेनन् ।
बन्धक मुक्तिको यो कदमले विश्वव्यापी प्रशंसा पाएको छ । युरोपेली संघकी परराष्ट्र नीति प्रमुख काया कलासले यसलाई ‘शान्तितर्फको महत्वपूर्ण कदम’ भन्दै स्वागत गरेकी छन् । उनले लेखेकी छन्, ‘राष्ट्रपति ट्रम्पको मध्यस्थताबाट यो ऐतिहासिक प्रगति सम्भव भएको हो ।’
यो मुक्तिको चरण इजरायल र हमासबीचको व्यापक युद्धविराम तथा बन्धक विनिमय सम्झौताकै पहिलो चरण हो, जसले आगामी दिनमा थप बन्धकहरू मुक्त हुने र क्षेत्रीय स्थायित्वतर्फको मार्ग खुल्ने आशा जगाएको छ ।
एएनआई
प्रतिक्रिया