Logo

खेलकुद

नेपालले दियो यूएईलाई १४१ रनको लक्ष्य 



काठमाडौं ।  आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १४१ रनको लक्ष्य  दिएको छ ।

आइतबार ओमानको अल अमेरतमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर आसिफले ५१ रनको अर्धशतकीय इनिङ खेले । आसिफले ४७ बलमा चार चौका र एक छक्का प्रहार गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको यो नवौँ अर्धशतक हो ।

यस्तै, अर्का ओपनर कुशल भुर्तेलले २६ बलमा दुई चौका र दुई छक्कासहित २८ रन थपे । यी दुईले पहिलो विकेटका निम्ति ५६ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए ।

आसिफ र भुर्तेलबाहेक, कप्तान रोहितकुमार पौडेलले २० र गुल्सन झाले पाँच बलमा १४ रन जोडे ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यसैकारण आज नेपाल लगातार तेस्रो जितको खोजीमा छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ६ : ३४ बजे