Logo

समाचार

माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीन जना विरुद्ध मुद्दा दायर



रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७÷७८ मा आह्वान गरिएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ ।

अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.लाई रू.२ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

विद्यालय भवन निर्माणको ठेक्का सम्बन्धी सूचना लुकाएर झुट्टा बिलभरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा  अख्तियारले  प्रतिवादी बनाएर  सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, माधवनारायण नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव  र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.का सञ्चालक अजित कुमार कर्णले गैरकानूनी लाभ तथा नगरपालिकालाई हानि पु¥याउने बदनियतले काम गरेको पुष्टि भएको अख्तियारको दावी छ ।

उनीहरूले बोलपत्र आह्वानको सूचना  लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरी नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी  मात्र प्रकाशित गरिएको पाइएको अख्तियारले जारी गरेको बिज्ञाप्तिमा उल्लेख छ ।

प्रेस काउन्सिल नेपालबाट सो मितिका सूचनाहरूको ‘पीडीएफ अभिलेख’ नदेखिएको भनी प्राप्त भएबाट उक्त सूचना प्रकाशित नै नभएको पुष्टि भएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ४ : १२ बजे