Logo

राजनीति

प्रचण्ड र परिवारविरुद्धको प्रचारप्रति माओवादीको आपत्ति, “तथ्यहीन र नियोजित चरित्र हत्या”



काठमाडौं – नेकपा (माओवादी केन्द्र) ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूलाई लक्षित गरी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएको समाचारप्रति कडा आपत्ति जनाएको छ।

पार्टीको सचिवालयद्वारा जारी विज्ञप्तिमा हालै केही सञ्चारमाध्यम र डिजिटल प्लेटफर्महरूमा आएको सामग्रीलाई ‘तथ्यहीन, पूर्वाग्रही र चरित्रहत्या गर्न लक्षित’ भन्दै खण्डन गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “संकटको संवेदनशील परिस्थितिमा पार्टी नेतृत्वमाथि नियोजित रुपमा गरिएका यस्ता आधारहीन र दुर्भावनापूर्ण प्रचारप्रति हामी गम्भीर आपत्ति जनाउँदै कडा शब्दमा भर्त्सना गर्दछौं।”

विशेषतः दुईवटा ट्रकमार्फत दुई करोड रुपैयाँ प्रचण्ड निवासबाट ‘जेनजी आन्दोलन’ अघि सारिएको, गंगा दाहालको घरमा आठ सुरक्षाकर्मी खटाइएको र उनीहरूलाई घरेलु काममा प्रयोग गरिएको जस्ता दाबीहरूलाई पार्टीले प्रमाणविहीन र निराधार भनेको छ।

“हामी यस्ता आरोपहरू प्रस्तुत गर्ने सञ्चारमाध्यमहरूलाई प्रमाणसहित जानकारी सार्वजनिक गर्न चुनौती दिन्छौं,” विज्ञप्तिमा भनिएको छ।

सचिवालयले अभिव्यक्ति स्वतन्त्रताको नाममा गालीगलौज, चरित्र हत्या र मानहानी गर्न नपाइने संविधान र पत्रकार आचारसंहिताको व्यवस्था स्मरण गराउँदै, सूचना प्रवाह गर्दा तथ्य, स्रोतको विश्वसनीयता र सम्बन्धित पक्षको दृष्टिकोण समेट्नुपर्ने न्यूनतम पत्रकारिता मान्यताको पालना गर्न आग्रह गरेको छ।

त्यस्तै, यस्तो गलत सूचना प्रवाह साइबर कानुनविपरीत रहेको उल्लेख गर्दै कानुनी अनुसन्धानका लागि सम्बन्धित निकायमा निवेदन दिइएको जानकारी पनि विज्ञप्तिमा दिइएको छ।

“यदि भविष्यमा पनि यस्ता तथ्यहीन, दुराशयपूर्ण सामग्री प्रकाशित वा प्रसारित भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित प्रकाशक तथा प्रसारक स्वयंमाथि पर्नेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

सचिवालयले आम जनसमुदायलाई यस्ता भ्रामक प्रचारप्रति सतर्क रहन र भ्रममा नपर्न पनि आग्रह गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  १२ : ०१ बजे