काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार विपद् संकटग्रस्त क्षेत्र इलामको स्थलगत निरीक्षण गरी प्रभावितलाई राहत वितरण गरेका छन् ।
मन्त्रीसंगै गृह सचिव रामेश्वर दंगाल, भौतिक पूर्वाधार तथा यातायात सचिव केशव कुमार शर्मा, नेपाल प्रहरीका महानिरिक्षक चन्द्र कुबेर खापुङ्गलगायतको टोलीले प्रभावित क्षेत्रहरुको निरीक्षण एवम् प्रभावितलाई राहत वितरण गरेको थियो ।
गत असोज १७, १८ र १९ गते परेको भिषण वर्षाको कारण क्षति भएको मेची राजमार्ग अन्र्तगतका विभिन्न खण्डहरुको निरिक्षण गर्दै मन्त्री घिसिङले जतिसक्दा छिटो राजमार्गलाई सुचारु गर्ने गरी सडक मर्मत तथा पुनः निर्माणको कार्य भईरहेको बताए ।
साथै सरकारले विपद् पछिको राहत वितरण तथा पुनःस्थापनाको कार्यलाई विशेष प्राथमिकताको साथ तिनै तहका सरकारहरु मिलेर अगाडि बढाइने समेत बताए ।
पहिरोका कारण इलाम नगरपालिका वडा नम्बर १० स्थित माईटापुका २६ घर परिवार विस्थापित भएका थिए । उक्त विस्थापित परिवारको अस्थाई आवासको निरीक्षण तथा राहत वितरण गर्दै मन्त्री कुलमान घिसिङले सरकार तपाईंहरुको साथमा छ पुर्नस्थापनाको रुपमा स्थाई संरचना निर्माण गर्ने कार्य तुरुन्त अघि बढाइने समेत बताए ।
प्रतिक्रिया