Logo

मनोरञ्जन

नायक राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक



काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमालले आफ्नो आत्मकथात्मक पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक गरेका छन् । शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा हमाल स्वयंले पुस्तक विमोचन गरेका हुन् ।

कार्यक्रममा बोल्दै हमालले करिब तीन वर्षको तयारीपछि पुस्तक प्रकाशनमा आएको जानकारी दिए । उनले भने, ‘करिब करिब हामीलाई यो पुस्तक लेख्न तीन वर्ष लाग्यो । रोचक ढंगले यो पुस्तक सबैको सामु आएको छ ।’

उनका अनुसार पुस्तकमा चलचित्र क्षेत्रका अनुभव मात्र नभई समाज, राजनीति, धर्म, मनोविज्ञान, मानवीय जीवन, बाल्यकाल, पारिवारिक पृष्ठभूमि लगायत विविध विषयवस्तु समेटिएका छन् ।

‘प्रश्नकर्ता र म मिलेर सबै कुरा यो पुस्तकमा समेटेका छौं । यो पुस्तकमा सिनेमाका मात्रै कुराहरु नभएर सिनेमा र समाजसँग सम्बन्धित धेरै पाटाका कुराहरु छन् । राजनीति, धर्म, केही मनोविज्ञानका कुरा छन्, मानवीय जिवनका कुराहरु छन्, आफ्नो बाल्यकालको परिवारको कुरा छ । सम्बन्ध पारिवारिक माहोलका कुराहरु पनि पुस्तकमा छन् ।’

साथै उनले पुस्तक तयार भएर पढ्दा आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लागेको बताए ।
‘यो पुस्तक तयार भएर पढ्दा मलाई आफ्नो सम्पूर्ण जीवनलाई एकचोटि पछाडि फर्केर हेरेजस्तो लाग्यो । फेरि त्यही जीवन फेरि जिएँ जस्तो महसुस भयो,’ हमालले भने ।

फाइनप्रिन्टले प्रकाशन गरेको पुस्तकमा हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवम् समाज र अन्य विभिन्न विषय समेटिएको छ । लेखक एवम् पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ४ : २१ बजे