Logo

मुख्य समाचार

‘जेनजी आन्दोलन’ बाट क्षतिग्रस्त खाद्य संस्थान लहानलाई नगरपालिकाको सहयोग, फर्निचर र कम्प्युटर हस्तान्तरण


२४ आश्विन २०८२, शुक्रबार  

23
Shares

सिराहा । सिराहा जिल्लाको लहान नगरपालिकाले ‘जेनजी आन्दोलन’ का क्रममा भएको तोडफोड र आगजनीबाट क्षति पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य संस्थान) को लहान कार्यालयलाई पुनःस्थापनाका लागि सामग्री सहयोग गरेको छ।

नगर प्रमुख महेश चौधरीले बिहीबार गरेको प्रतिबद्धता अनुसार आज (शुक्रबार) कार्यालयलाई आवश्यक फर्निचर र कम्प्युटरलगायतका सामग्री हस्तान्तरण गरेका हुन् ।

केही दिनअघि ‘जेनजी आन्दोलन’ को नाममा भएको प्रदर्शनका क्रममा अज्ञात समूहले खाद्य संस्थानको कार्यालयमा प्रवेश गरी लुटपाट, तोडफोड र आगजनी गरेको थियो। सो घटनाबाट कार्यालयका महत्वपूर्ण कागजात, फर्निचर र उपकरणहरू नष्ट भएका थिए, जसका कारण कार्यालयको सेवा ठप्प भएको थियो।

क्षतिग्रस्त कार्यालयको अवलोकनपछि नगर प्रमुख चौधरीले तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुरुप नगरपालिकाले आज १ सेट कम्प्युटर, १ थान प्रिन्टर, १० वटा कुर्सी, ४ वटा टेबल र १० वटा प्लास्टिकका टेबल संस्थानलाई उपलब्ध गराएको छ।

सामग्री हस्तान्तरण गर्दै मेयर चौधरीले भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो। आन्दोलनको नाममा भएको यस्तो क्षति निन्दनीय छ। संस्थानलाई पुरानै अवस्थामा फर्काउन र सेवा सुचारु गर्न नगरपालिकाले सानो सहयोग गरेको हो।’

नगरपालिकाको यो सहयोगले कार्यालयको कामकारवाही पुनः सुरु गर्न महत्वपूर्ण मद्दत पुग्ने विश्वास संस्थानले लिएको छ। संस्थानका कर्मचारीहरूले नगरपालिका र मेयर चौधरीप्रति आभार व्यक्त गर्दै चाँडै नै सेवा सुचारु गर्ने बताएका छन्।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ०३ बजे