Logo

समाचार

सुनसान बिपी राजमार्ग


२४ आश्विन २०८२, शुक्रबार  

23
Shares

रामेछाप । यतिबेला दशैँ सकेर काठमाडौं फर्कनेको चाप छ।

देशभरिबाट काठमाडौं छिर्नेको चापका कारण काठमाडौं छिर्ने सबै सडकहरू व्यस्त छन् । राजमार्ग किनारका होटेल तथा पसलहरूलाई भ्याइनभ्याइ छ ।

काठमाडौं छिर्ने देशभरिका सडक व्यस्त हुँदा काठमाडौं पूर्वबाट राजधानी काठमाडौं छिर्ने मेरुदण्ड सडकको रूपमा रहेको बिपी राजमार्गको खुर्कोट—नेपालथोक—भकुण्डे—धुलिखेल खण्ड भने सुनसान छ ।

यो सिजनकै सबैभन्दा बढी व्यापार हुने समयमा बिपी राजमार्ग किनारका होटेल, पसलहरू प्राय बन्द छन् । खुलेका पनि सुनसान छन् । खाना खाने र किनमेल गर्ने मानिसहरू छैनन् ।

गत असोज १७ गते रातिदेखि ३ दिनसम्मको अविरल वर्षाको कारण रोशी खोलामा आएको बाढीले काभ्रेको चौकीडाँडादेखी सिन्धुलीको नेपालथोकसम्म ठाउँ ठाउँमा सडक बगाएपछि बिपी राजमार्गको सो खण्डमा यातायात सेवा ठप्प भएको छ । जसको कारण चौबिसै घण्टा सवारी चाप हुने बिपी राजमार्ग अहिले सुनसान भएको छ ।

राजमार्गमा गाउँबाट स्थानीय बजारमा झर्ने साना सवारी साधन फाट्टफुट्ट देखिन्छ । बजारमा स्थानीय उपभोक्ताहरू फाट्टफुट्ट सामान किन्न आउने गर्दछन् ।

सडक बन्द भएपछि व्यापार व्यवसाय सबै ठप्प भएको सिन्धुलीको रातमाटा बोहोरेटारका व्यवसायी राजेश कार्की बताउँछन् । ‘बिपी हाइवेका सबै बजार राजमार्गकै कारण चल्ने हो, यातायात बन्द भएपछि व्यापार व्यवसाय ठप्प छ’, उनले भने ।

बाढीले बिपी राजमार्ग १६ ठाउँमा बगाएको छ । एक हप्तादेखि सडकमा यातायात साधन चलेका छैनन् ।

बगाएको सडकमा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा सडक विभाका प्राविधिकहरू जुटिरहेका छन् ।

आज साँझसम्म सडक निर्माण गरेर यातायात साधन चलाउने योजनाका साथ काम भइरहेको छ । सडक सञ्चालन भएपछि राजमार्ग किनारको व्यापार व्यवसाय फेरी उठ्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : २० बजे