सर्लाही । अविरल वर्षासँगै आएको बाढीले बगाएर अवरुद्ध बनेको सर्लाहीको कौडेना गाउँपालिका – ३ स्थित हुलाकी सडकमा अस्थायी डाइभर्सन निर्माण भएपछि बिहानदेखि सवारी सञ्चालन सुरू भएको छ ।
गत शनिबार राति परेको भारि वर्षाले लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिका – ३, पर्सा गाउँ नजिक करिब १५० मिटर पक्की सडक बगाएको थियो । त्यसपछि सर्लाहीको दक्षिण – पश्चिम भेग सदरमुकाम मलंगवासँग जोड्ने यो मुख्य सडक पूर्णरूपमा अवरुद्ध बनेको थियो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र कौडेना गाउँपालिकाको समन्वयमा दुई दिनदेखि निरन्तर काम गरेर अस्थायी डाइभर्सन तयार पारिएको हो । अहिले सडक ‘वान वे’ अर्थात् एक पटकमा एक मात्र चार पाङ्ग्रे सवारी वारपार गर्न मिल्ने गरी डाइभर्सन बनाइएको छ ।
यसअघि स्थानीय युवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सुरक्षाकर्मीहरूले मिलेर बाँस र पटाको लच्का निर्माण गरी पैदलयात्रु, साइकल र मोटरसाइकल वारपार गर्न व्यवस्था मिलाएका थिए । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठका अनुसार सो लच्काको ठाउँमै अहिले अस्थायी डाइभर्सन बनाइएको हो ।
बजेट अभावका कारण तत्कालै कलभर्ट निर्माणको काम सुरु गर्न भने समस्या रहेको पालिकाले बताएको छ । सडक सञ्चालनमा आएपछि सर्लाहीको दक्षिण – पश्चिम क्षेत्रका बासिन्दा तथा व्यापारीहरूले राहत महसुस गरेका छन् । स्थानीयका अनुसार अस्थायी भए पनि सडक खुल्नासाथ जनजीवन सहज बनेको छ ।
प्रतिक्रिया