Logo

प्रदेश

बाजुरामा सडेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो


२३ आश्विन २०८२, बिहिबार  

0
Shares

बाजुरा । बाजुरामा सडेगलेको अवस्थामा भेटिएको वेवारिसे शवको पहिचान खुलेको छ । बुधबार बाजुराको हिमाली गाउँपालिका झुगलास्थि कर्णाली नदीमा उक्त शव फेला परेको थियो ।

उक्त शव हुम्लाको चंखेली गाउँपालिका चार माथिल्लो पाली बस्ने हर्क बोहराकी अन्दाजी २० बर्षीया कर्मा बोहराको रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 

कर्मासंगै एक युवक केही दिनअघि घरबाट सम्पर्कविहीन भएका थिए । उनीहरु लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बुझिएको छ । सोही गाउँका अन्दाजी २३ बर्षका हंस बुढाथोकीसँग कर्मा भागेकी थिइन् तर पछि दुवैजनाले सँगै कर्णाली नदीमा हाम फालेको बताइएको छ ।

त्यसवेला खवर गर्दा उनको कुनै खवर नभएको तर १२ दिनपछि बाजुरामा शव भेटियो उनका आफन्तले बताए ।

कर्मासंगै हाम फालेका युवक भने हालसम्म कतै नभेटिएको बताइएको छ । कोल्टी अस्पतालमा हुम्लाबाट मृतक युवतीका बुवासहित आफन्तहरु समेत पुगेका हुन् । उनले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा सनाखत गरिएको हो ।

मृतक युवतीको शव कोल्टी अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहिबार  ७ : ५९ बजे