जनकपुर । धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् ।
बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरुलाई फसाउन पाईदैन लगायत लेखिएको प्लेकार्ड हातमा बोकेर विरोध जनाएका छन् ।
केही दिन अघि, दुर्गा भगवतीको मुर्ती विसर्जनको क्रममा रुपेठामा हिन्दू र मुस्लिम समुदायबीच विवाद उत्पन्न भएको थियो । सोही बेला मुस्लिम समुदायले मुर्ती विसर्जन गर्न गएकाहरु माथि सिसाको बोतल र ढुंगा मुढाले प्रहार गरेका थिए ।
सो पछि आक्रोसित हिन्दू समुदायले मुस्लिम समुदायले निर्माण गरेको एउटा टहरामा आगो लगाएका थिए । धनुषा प्रहरीले स्थिती नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गर्नुका साथै केही स्थानीयहरुलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएका स्थानीयहरु निर्दोष किशोर र युवाहरु रहेको भन्दै हिन्दूवादी संगठनका अगुवाहरुले निरन्तर जनकपुरधाममा प्रदर्शन गर्दै आएका छन् । उनीहरुले पक्राउ परेकाहरुलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।
प्रतिक्रिया