धार्मिक दृष्टिले हिन्दु वा बौद्ध धर्म मूलतः अहिंसात्मक भएपनि समाजमा हिंसाको प्रवृत्ति बढ्नुको मुख्य कारण आधारभूत आवश्यकताको अभाव र राज्यको बेवास्ता नै हो । त्यसकारण यस्ता प्रवृति नियन्त्रणमा राज्यका अभिभावक र नेतृत्वको भूमिका सकरात्मक हुनुपर्छ ।
डा।नरेशमान बज्राचार्य
प्राध्यापक/ बौद्ध दर्शनका अध्येता
काठमाडौं । नेपालमा हिंसात्मक प्रवृत्ति नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिका निर्णयक हुने बौद्ध दर्शनका प्राध्यापक डा।नरेशमान बज्राचार्य बताउँछन् । उनका अनुसार नेपाली समाजमा विगतमा ‘तडकभडक’ गर्ने प्रवृत्ति देखिए पनि अहिले हिंसात्मक गतिविधि बढ्दो अवस्थामा रहेको छ ।
धार्मिक दृष्टिले हिन्दु वा बौद्ध धर्म मूलतः अहिंसात्मक भए पनि समाजमा हिंसाको प्रवृत्ति बढ्नुको मुख्य कारण आधारभूत आवश्यकताको अभाव र राज्यको बेवास्ता रहेको धारणा उनले व्यक्त गरे । त्यसकारण यस्ता प्रवृतिहरु नियन्त्रणमा राज्यका अभिभावक र नेतृत्वको भूमिका मुख्य हुने उनले बताएका छन् ।
प्राडा बज्राचार्यका अनुसार, सरकारले नागरिकलाई रोजगारी, तलब–पारिश्रमिकजस्ता आधारभूत आवश्यकता उपलब्ध गराउन नसक्दा जनतामा असन्तोष बढेको छ । शिक्षा हासिल गरेका युवायुवतीलाई रोजगारी नपाउने, रोजगारी पाएका व्यक्तिलाई पर्याप्त पारिश्रमिक नहुने अवस्था आएको उनको भनाई छ । यसले भ्रष्टाचार, चोरी, लुटपाटजस्ता समस्या जन्माएको उनको तर्क छ ।
‘साँचो समस्याको जरा शिक्षा नभएर रोजगारी, पर्याप्त पारिश्रमिक र अन्य आधारभूत आवश्यकताको अभाव हुन् । शिक्षित धेरै युवा पढेर डिग्री पाउँछन् तर रोजगारी उपलब्ध हुँदैनस वा रोजगार भए पनि पारिश्रमिक पर्याप्त नहुने भएकाले उनीहरू दुविधामा परिरहेका छन,’ उनले भने । ‘यस्ता अवस्थाले भ्रष्टाचार, चोरी, लुटपाट जस्ता अपराधिक प्रवृत्तिलाई जन्म दिने वातावरण तयार पार्दै आएको विश्लेषकको भनाइ छ ।’
‘जबसम्म शान्तिपूर्ण आन्दोलन हुन्छ, सरकारले वास्ता गर्दैन । तर जब आन्दोलन विध्वंसात्मक बन्छ, तबमात्र वार्ताको पहल हुन्छ ।’ विस २०४६ सालदेखि अहिलेसम्मका आन्दोलनमा देखिएको यो प्रवृत्तिले समाजलाई हिंसात्मक बाटोतर्फ धकेलेको उनको तर्क छ ।
डा।बज्राचार्यले हिंसा नियन्त्रणमा अभिभावक र नेतृत्वको भूमिकालाई निर्णायक भनेका छन् । ‘घरमा अभिभावक, समाजमा अगुवा र देशमा नेताले नै सही मार्गदर्शन दिनुपर्छ । उनीहरू नै भ्रष्ट र दुराचारमा संलग्न भए तलसम्म सुधार सम्भव हुँदैन,’ उनले भने ।
उनका अनुसार, सामाजिक शान्ति र देशको स्थिरताका लागि शीर्ष नेतृत्व वा राज्यसत्ता नै जिम्मेवार हुनुपर्छ । ‘उहिले भनिन्थ्यो, राजा राम्रो भए देश राम्रो हुन्छ । अहिले पनि त्यही हो—माथिल्लो स्तरमा सुधार भए मात्र तलसम्म शान्ति र सुधार सम्भव हुन्छ,’ उनले जोड दिए ।
प्रतिक्रिया