Logo

Breaking News 1

अबिरल वर्षाले देशभर ४८ जनाको ज्यान गयो, ६ जना अझै बेपत्ता



काठमाडौं । असोज १७ गतेदेखि २० गतेसम्म परेको अबिरल वर्षाका कारण देशभर ४८ जनाको ज्यान गएको छ भने ६ जना अझै बेपत्ताको सूचीमा छन् ।

वर्षासँगै आएको बाढी, पहिरो, र चट्याङले जनधनमा ठूलो क्षति पु¥याएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार, सबैभन्दा धेरै क्षति पहिरोका कारण भएको छ ।

इलाम जिल्लामा मात्रै ३७ जनाको मृत्यु पहिरोबाट भएको छ भने पाँचथरमा १ र काभ्रेपलाञ्चोकमा १ जनाको ज्यान गएको छ । बाढीका कारण पाँचथर, खोटाङ, मोरङ, सुनसरी, उदयपुर, र रौतहटमा गरी ६ जनाको मृत्यु भएको छ ।

यस्तै, रौतहटमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने उदयपुरमा अबिरल वर्षाका कारण एक जनाको मृत्यु भएको हो । बेपत्ता भएकामध्ये रसुवामा बाढीले ४ जना, इलाममा १ जना, र पहिरोमा परी इलाममै १ जना बेपत्ता भएका छन् ।

घाइते हुनेको संख्या २८ रहेको छ । चट्याङका कारण भोजपुर, खोटाङ, उदयपुर, मकवानपुर, ताप्लेजुङ, धनकुटा र बाराका विभिन्न स्थानमा गरी ११ जना घाइते भएका छन् ।

पहिरोका कारण इलाम, पाँचथर, र ललितपुरमा गरी १४ जना घाइते भएका छन् भने अबिरल वर्षाका कारण पाँचथर र धनकुटामा २ जना घाइते भएका छन् । खोटाङमा बाढीले १ जनालाई घाइते बनाएको छ ।

बाढी र पहिरोमा परेकामध्ये १८ जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ । तीमध्ये इलामको माङसेबुङ गाउँपालिकामा पहिरोमा फसेकी एक गर्भवती महिला सहित २ जना र झापाको बाढी तथा डुबानबाट १६ जनालाई उद्धार गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्षासँगै आएको विपत्तिले पूर्वी नेपाल सबैभन्दा बढी प्रभावित भएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ६ : ३४ बजे