Logo

Breaking News 1

दोषीहरुलाई कारवाही गर्न नसक्ने सरकारले कुर्सी छाडिदिए हुन्छ : गणेश चौलागाई



काठमाडौं । जेनजी शहीद श्रेयम चौलागाईको बुबा गणेश प्रसाद चौलागाईले जेनजी आन्दोलनमा दमन गर्ने दोषीहरुलाई कारवाही गर्न नसक्ने हो भने शहीद परिवारहरुले देशको नेतृत्व लिने बताएका छन् । सोमबार गृह मन्त्रालयमा छलफलका लागि पुगेका चौलागाईंले देशको नेतृत्व शहीद परिवारले लिने दाबी गरेका हुन् । उनले आन्दोलनमा गोली चलाउन आदेश दिनेहरुविरुद्ध प्रहरीमा किटानी जाहेरी दिनेसमेत बताए ।

उनले भने, ‘शहीद परिवारलाई अवमूल्यन गर्न खोजिएको हो भने हामी पनि त्यही तरिकाले जान्छौ । सरकारले दोषीलाई कारवाही गर्न सकिदैँन् भन्छभने छिटोभन्दा छिटो कुर्सी छाडिदिए हुन्छ । किनभने यो सरकार बनाएको नै कारबाहीको लागि हो । यदि सकिदैँन् भने कुर्सी छाडिदिए हुन्छ । शहीद परिवारले नेतृत्व लिएर के गर्नुपर्छ गर्छन् ।’

यस्तै, शहीद परिवार कसैको पनि सरकारमा प्रतिनिधित्व नभएको बताए । उनले आज र भोलिमा जेनजीका को को साथीहरु कुन कुन मन्त्रालयमा हुनुहुन्छ, कुन कुन समितिमा राखिएको छ त्यो सूची आफूहरुलाई चाहिएको पनि बताए ।
उनले भने, ‘किटानी जाहेरी दिनुपर्छ भन्ने सुझाव आएकाले छलफलका लागि गृह मन्त्रालय आएका हौँ । अर्को कुरा भनेको सरकारमा जेनजीको प्रतिनिधित्व को हो र मन्त्रालयमा जेनजीको मान्छेहरु को को सहभागी हुनुभएको छ त्यो नामावली हामीलाई चाहियो भनेका छौं । शहीद परिवार र जेनजी प्रतिनिधि को को सहभागी गराउनुभएको छ त्यो जानकारी लिन चाहन्छौं ।’

साथै, ११ सदस्य वार्ता टोलीमा शहीद परिवारको सहभागिता हुनुपर्ने माग राखे । साथै उनले जेनजी प्रतिनिधिहरुले पनि काम गर्न सक्दैनन् भने सक्दैनौ भनेर छाड्नुपर्ने बताए । आफूहरुले अगाडि सारेका मागहरु पूरा नभए सिंहदरबार अगाडि बसेर धर्ना दिने उनले बताए । हाल शहीद परिवारका सदस्यहरु संगठित भएर सरकारलाई दबाब बढाउन थालेका हुन् । उनीहरु सोमबार गृहमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका थिए ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ३ : ५३ बजे